एमसीसीबारे ओली गैरजिम्मेवार : प्रचण्डको सचिवालय


२८ माघ २०७८, शुक्रबार
prachanda 1 1

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एमसीसीको सन्दर्भमा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।

बिहीबार साँझ ओली र प्रचण्डबीच भएको टेलिफोन कुराकानीका क्रममा एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न प्रचण्डले आग्रह गरेपनि ओली गैरजिम्मेवार बनेको सचिवालयको आरोप छ ।

‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोशिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं भन्नुभएको हो’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शुक्रबार सामाजिक सञ्जालमार्फत बताएका छन् ।

तर अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ । ‘उहाँले बरु तपाईंहरुसँग बहुमत छ, पास गर्नुस् । तर गैर संसदमा रहँदासम्म संसद चल्न भने दिन्नौं भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो। यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन’, मल्लले भनेका छन् । यसअघि विहीबार साझ प्रचण्डले ओलीलाई फोन मार्फत एमसीसीबारे निणर्यमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका थिए । प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भनेका थिए, ‘एमसीसीमा तपाईंले निणर्य नगरी भएन ।’

ओलीले पहिले आफूले निणर्य गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ छ । ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ, ओलीको भनाइ उद्धृत गर्दै रिजालले लेखेका छन्, ‘अहिले सत्ता चलाइरहनु भएको छ, प्रतिनिधिसभामा १६५ सदस्य छन् । पहिले आफूले निणर्य गर्नुस् । नेकपा (एमाले) त निणर्य गरिहाल्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७