ओली सरकारकै पालामा एमसीसी संसदमा लैजाने सहमति भएको हो : कांग्रेस प्रवक्ता

‘प्रवक्ता पद मागेको होइन, स्वीकार गरेको हो’


२८ माघ २०७८, शुक्रबार
Prakash Sharan Mahat

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा एमसिसी संसदमा लैजाने सहमति भएको बताएका छन् । आज (शुक्रबार) नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय मुद्दामा जनतामा भ्रम सिर्जना गर्ने काम भइरहेको भन्दै उनले एमसीसी नेपाल जस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएको परियोजना रहेको दावी गरे । उनले सत्तामा पुगेका सबै दल एमसीसी परियोजना अघि बढाउन लागेको बताए ।

‘एमसीसीमा कसैको पनि असहमति छैन । ओली नेतृत्वको सरकारकै पालामा एमसीसी संसदमा लैजाने सहमति गरिएको हो । कुनै पनि जिम्मेवार दलले चुप लागेर बस्नु दुःखद हो । सत्य कुरा के हो त्यसबारे स्पष्ट बोल्नु पर्छ,’ उनले भने, ‘एमसिसी नेपालकै प्राथमिकता हो । नेपालकै कानुनअनुसार परियोजना सञ्चालन हुने हो ।’

उनले एमसीसीमा विरोध हुनु दुर्भाग्य भएको बताएका थिए । यसबारे संसदमा छलफल हुनुपर्ने र संसदले नै यसको टुंगो लगाउनुपर्नेमा उनको जोड थियो । ‘अनावश्यक रुपमा भ्रम छर्ने काम हुनु गलत हो । संसदमा बुँदागत छलफल हुन्छ’, प्रवक्ता महतले भने, ‘संसदमा टेवुल गर्ने सभामुखको जिम्मेवारी हो । संसदबाट नै दूधको दूध पानीको पानी छुट्टिन्छ ।’

प्रवक्ता पद मागेको होइन, स्वीकार गरेको हो’
केही दिनअघि मात्र नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी पाएका प्रकाशशरण महतले आफूले यो पद मागेको नभई स्वीकार गरेको बताएका छन् ।

पार्टीको प्रवक्ता भएकामा बधाई तथा सम्मान दिन शुक्रबार नेपाल प्रेस युनियनले आफ्नो केन्द्रीय कार्यालय (थापागाउँ) मा आयोजना गरेको कार्यक्रममा महतले भने, ‘प्रकाशशरणले (प्रवक्ता पद) मागेको होइन, स्वीकार गरेको हो ।’

उनले प्रवक्ताका रूपमा पार्टीका धारणाहरूलाई स्पष्ट रूपमा राख्ने प्रतिबद्धता पनि जनाए । ‘पार्टीका कतिपय कुराहरू स्पष्ट नहुँदा कांग्रेसप्रति अन्योलता सिर्जना हुने गरेको थियो । अब त्यस्तो भ्रम पैदा हुन नदिन काम गर्नेछु’, महतले भने, ‘बीपी कोइरालाले भनेको कुरा सत्य कुराको मुख बन्द हुन दिने छैन । व्यक्ति केन्द्रित हुँदा जनतामा अन्योल पैदा भएको छ। यो अन्योलतालाई हटाउने कोशिस गर्नेछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७