कालीकोटका स्थानीय तह निमित्तका भरमा


२८ माघ २०७८, शुक्रबार
1642650405 kailali cdo 1200x560 1

कालीकोट । कालीकोटका नौ वटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तका भरमा रहेका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा प्रमुख निमित्त भरमा काम चलाइरहेका छन् ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव र गाउँपालिकामा वरिष्ठ अधिकृतको दरबन्दी नेपाल सरकारले तोकेको भए पनि शिक्षा, स्वास्थ्य पशु सेवा लगायतका अन्य विभागका कर्मचारीले कालीकोटमा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका छन् ।
उपसचिवको दरबन्दी रहेको रास्कोट नगरपालिकामा पशुसेवाका आठौँ तहका प्राविधिक कर्मचारी जवानसिंह बम, खाँडाचक्र नगरपालिकामा शिक्षा शाखाका कर्मचारी जसीप्रसाद चौलागाईं र तिलागुफा नगरपालिकामा स्वास्थ्य क्षेत्रका सातौँ तहका कर्मचारी लक्ष्मणप्रसाद चौलागाईंलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, पलाँतामा छैटौँ तहका कर्मसिंह बम, सान्नी त्रिवेणीमा छैटौँ तहका नेत्रबहादुर शाही, शुभकालिकामा छैटौं तहका केन्द्रबहादुर शाहीलार्ई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ । उनीहरु पशु सेवा प्राविधिकतर्फका अधिकृत छन् ।

पचालझरनामा प्रशासनतर्फका अधिकृत वीरेन्द्रवहादुर बम र नरहरिनाथमा अधिकृत गणेशमान सिंहलाई जिम्मेवारी तोकिएको छ । कर्मचारी दुर्गममा आउन नमान्ने भएकाले निमित्तकै भरमा स्थानीय तह सञ्चालन गर्नु परेको शुभकालिका गाउँपालिका अध्यक्ष खाडानन्द चौलागाईंले बताए ।

प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि नआउँदा विकास निर्माणमा काममा असर पर्ने भएकाले निमित्त भरमा लामो समयदेखि काम गर्दै आएको रास्कोट नगर प्रमुख काशीचन्द बरालले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७