राप्रपाभित्र लाचार र अपमानित भएर बस्नु भन्दा नयाँ पार्टी खोल्छु : कमल थापा


२८ माघ २०७८, शुक्रबार
kamal thapa

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग्गै रही फागुन पहिलो हप्ताभित्रै नयाँ पार्टी स्थापना दर्ता गराउने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज शुक्रवार सञ्चारकर्मीसँगको भेटघाटमा उनले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको प्रसङ्ग पनि उल्लेख गरेका छन् । थापाले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई सहयोग गर्ने चाहना हुँदाहुँदै पनि नेतृत्वलाई सैद्धान्तिक र साङ्गठनिक विषयमा दिएको सुझावलाई बेवास्ता गरेकाले नयाँ पार्टी खोल्ने धारणा राखे ।

साथीहरूसँग परामर्श गरेर फागुनको पहिलो हप्तामा नै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने उद्घोष गर्दै उनले नयाँ पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोक्ने बताए । नेता थापाले आफूले बोकेको विचारलाई अलपत्र पारेर नछाड्ने भन्दै पार्टीभित्र लाचार र अपमानित भएर बस्नुभन्दा अलग्गै पार्टी खोल्नेमा जोड दिए ।

स्नेह, सद्भाव देखाउने तर माग सम्बोधन गर्न नसक्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्पष्ट पारेको भन्दै नेता थापाले राजालाई साझा अभिभावक र संवैधानिक राजाका रूपमा हेर्न चाहेको बताए । उनले अमेरिकी सहयोग एमसीसी आफैमा आपत्तिजनक नरहेको र यसका विषयमा आएका प्रश्न र आशंका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने भन्दै आर्थिक सहयोग लिन सकिने एमसीसीबाट कुनै नोक्सानी नहुने धारणा राखे । उनले यस विषयमा बढीभन्दा बढी राजनीतिक दललाई सहमति गराएर पास गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७