सर्लाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद


२८ माघ २०७८, शुक्रबार
drug 1
फाइल फोटो

सर्लाही । सशस्त्र प्रहरी बल सर्लाहीले ठूलो परिमाणमा अवैध लागुऔषध नाइट्राभेट बरामद गरेको छ । शुक्रबार दिउँसो सर्लाहीको बरहथवा नगरपालिका-१७, श्रीपुर कटानीबाट ४० प्याकेट १२ सय थान नाइट्राभेट ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो ।

लागुऔषध ओसारपसारमा संलग्न तस्करले ना ५५ प ९२८ नम्बरको मोटरसाइकलमा राखेर तस्करी गर्दैगर्दा उक्त लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाँले जनकारी दिए । सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीलाई देख्नेबित्तिकै तस्कर लागुऔषध र मोटरसाइकल छाडेर फरार भएको एसपी खनियाँको भनाइ छ ।

तस्करले बोरामा राखेर लैजाँदै गरेको अवस्थामा लागुऔषध बरामद भएको प्रहरीले जनाएको हो । बरामद लागुऔषध र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो समय लागुऔषधको कारोबार बढे सँगै दुर्व्यसन समेत बढेको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लामा लागुऔषध प्रयोगकर्ता र कारोबारी नियन्त्रणका लागि अभियान नै सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७