नेपाल पहिला बलिङ गर्दै, विवेक र सागरको डेब्यू

सन्दीप लामिछाने नेपालको कप्तानको रुपमा पहिलोपल्ट मैदानमा


२८ माघ २०७८, शुक्रबार
thumb 1 2

काठमाडौं । चारदेशीय ट्वान्टी-२० श्रृंखलाको पहिलो खेलमा नेपालले पहिला बलिङ गर्ने निणर्य गरेको छ । ओमानको राजधानी मस्कटमा शुक्रबार शुरु प्रतियोगितामा नेपालले ओमानलाई पहिला ब्याटिङमा बोलाएको हो ।

सन्दीप लामिछाने नेपालको कप्तानको रुपमा पहिलो पटक मैदानमा उत्रदै छन् । नेपालबाट विवेक यादव र सागर ढकालल ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्न लागेका हुन् । दुवै टोलीले यस प्रतियोगितालाई अर्को साता सुरु हुने ट्वान्टी-२० विश्वकपको छनोटको रुपमा लिएका छन् । विश्वकप छनोटको खेलहरू पनि मस्कटमै हुनेछ ।

ओमान र नेपाल ट्वान्टी-२० मा तेस्रोपटक भिड्न लागेका हुन् । मस्कटमै २०१९ को पाँचदेशीय प्रतियोगितामा अमिर कलिमले ५ विकेट लिएपछि नेपाल ११ ओभरमा ६४ रनमै अलआउट गर्दै ओमानले ६ विकेटले खेल जितेको थियो । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो न्युन स्कोर थियो । २०११ मा पनि यी दुई टोली काठमाडौंमा एसीसी ट्वान्टी-२० मा भिडेका थिए । त्यत्ति खेर नेपालसँग ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता थिएन, नत ओमानसँग नै थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०१९ यताका खेललाई ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता दिएको थियो ।

नेपालका पूर्व प्रशिक्षक रोय डाएसको प्रशिक्षणमा उत्रिएको ओमानले कीर्तिपुर मैदानमा १५ ओभरमा छोट्याइएको खेलमा १०१-८ को स्कोर बनाएको थियो । जबाफमा आएको नेपालले ९९-९ को स्कोरमात्र बनाउन सकेको थियो । पुबुदु दासानायकेको नेपालको प्रशिक्षकको रुपमा यो पहिलो खेल थियो ।

२०११ देखि २०१५ सम्म नेपालका प्रशिक्षक रहेका दासानायके डेढ महिना अघि पुनः नेपालको प्रशिक्षक भएर आएका थिए । ओमानसँगको खेल दासानायकेको दोस्रो कार्यकालको रुपमा नेपालको प्रशिक्षक भएर पहिलो खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७