एमसीसी संसदबाटै टुङ्गो लगाऊ, चुनावमा गठबन्धन नगरौं : शेखर कोइराला

‘देशकै नेतृत्व गर्ने पार्टी संकीर्णताबाट चल्दैन’


२८ माघ २०७८, शुक्रबार
shekhar koirala

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग मिलेनियम च्यालेञज कर्पोरेशन (एमसीसी) लाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसदबाटै यथाशीघ्र टुङ्ग्याउनु पर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता कोइराला यस्तो बताएका हुन् ।

डा. कोइरालाले आफ्नो मन्तव्य राख्दै भने, ‘एमसीसीलाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्छ । यदि एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसद्को क्षमतामाथि नै गम्भीर प्रश्नहरू तेर्सिने देख्दै छु ।’

डा. कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा समक्ष पाँच बुँदे प्रस्ताव राखेका छन् । विना भेदभाव पार्टी सञ्चालन गर्ने, भ्रातृ संस्थालाई विधिअनुसार काम गर्ने स्वतन्त्रता दिने, अन्य दलसँग चुनावी गठबन्धन नगर्ने, एमसीसी अनुमोदन गर्ने र क्रियाशील सदस्यता वितरण अहिलेदेखि नै शुरु गर्ने गरी कोइरालाले पाँच बुँदे प्रस्ताव अघि सारेका हुन् ।

सानेपामा जारी कार्यसम्पादन समिति बैठकमा पेस गरेको प्रस्तावमा उनले देशकै नेतृत्व गर्ने लोकतान्त्रिक पार्टी कांग्रेसको नेतृत्वले संकिणर्ता र गुटमा आधारित हुँदा त्यसले सिङ्गो पार्टीलाई कमजोर बनाउने पनि उल्लेख गरेका छन् ।

‘महाधिवेशन सके लगत्तै हामी चुनावी वर्षमा प्रवेश गर्न लागेका छौं । पार्टीभित्रको एकता, सद्भाव र साथीहरूको न्यायोचित व्यववस्थापन नै हाम्रो शक्ति हो । हाम्रो घरभित्रका सानातिना घरेलु समस्या, आपसी रिस राग, मनमुटाव र असन्तुष्टि भन्दा माथि उठेर एकढिक्का हुँदै चुनावी अभियानमा लाग्नुको विकल्प छैन’, उनले भने, ‘मैले यो विषयलाई यस कारण प्रारम्भमै राखेको हुँ, कि पार्टीको केन्द्रीय समितिमा मनोनयन तथा केन्द्रीय कार्य सम्पादन समिति गठन गर्दा सभापति ज्यूबाट कति न्याय र विवेक अपनाइयो भन्ने विषय बहसमै छ ।’

‘स्थानीय तहको निर्वाचन घोषणा भइसकेको छ । अब हामीले गाउँदेखि शहरसम्म सबै स्थानीय निकायमा लोकप्रिय, क्षमतावान, इमान्दार र पार्टीमा योगदान पुर्‍याएका साथीहरुलाई बिना भेदभाव, न्यायोचित र पूर्वाग्रहरहित तरिकाले उम्मेदवार चयन गरौँ’, उनले भनेका छन्, ‘यसो गर्न सके मात्र हाम्रो जीत सुनिश्चित हुनेछ । मैले विगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात रुख छापमै मतदान गर्न पाउनु पर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु ।’

उनले देशकै नेतृत्व गर्ने पार्टीले गुट र भागबण्डामा रमाउँदा त्यसले पार्टी र लोकतन्त्रलाई नै कमजोर पर्ने उल्लेख गरेका छन् । ‘मेरो अपेक्षा के हो भने देशकै नेतृत्व गरिरहेको लोकतान्त्रिक पार्टीमा संकीणर्ता अपनाउने, भागबण्डामा रमाउने र पार्टीका धेरै साथीहरूको लामो योगदानलाई भुलेर पूर्वाग्रह र भेदभाव गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्दछ’, कोइरालाले भनेका छन्, ‘यसकारण सभापति ज्यूले सानातिना कुराबाट माथि उठेर न्यायोचित र सम्मानजनक निणर्य गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७