एमसीसी पास गर्न अमेरिकाले दिएको दबाब खुला हस्तक्षेप : मसाल


२८ माघ २०७८, शुक्रबार
mohan bikram shingh

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले एमसीसी पास गर्न अमेरिकाले दिएको दबाब राष्ट्रिय स्वाभिमानमाथिको खुला हस्तक्षेप भएको बताएको छ ।

महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक वक्तव्य प्रकाशित गरी अमेरिकाले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई फोन गरेर एमसीसी पास गर्न दिएको दबाब नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाभिमान माथिको खुला हस्तक्षेप भएको भन्दै उक्त हस्तक्षेपको भर्त्सना गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीलाई फोन गरेर अमेरिकी मन्त्रीले एमसीसी पारित गर्न दवाव दिनु खुला हस्तक्षेप भएको बताएका हुन् । उनले यस्तो हस्तक्षेपले अमेरिकी साम्राज्यवाद र त्यसको सैनिक रणनीतिको उद्देश्य पूरा गर्न एमसीसी अगाडि ल्याइएको प्रष्ट पार्दै यसविरुद्ध व्यापक आवाज उठाउन र संघर्ष गर्न सबै देशभक्त जनतासित अपिल गरेका छन् ।

‘यो आम रूपमा थाहा भएको र स्वयम् अमेरिकी उच्च अधिकारीहरूद्वारा स्वीकार गरिएको कुरा हो कि एमसीसी इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो’, सिंहले भनेका छन्, ‘त्यसको उद्देश्य चीनविरोधी घेराबन्दीका लागि नेपाललाई उपयोग गर्नु नै हो ।’ सिंहले पहिला अमेरिकाले एमसीसी विशुद्ध आर्थिक विकास कार्यक्रम हो भनेर बताउँदै आए पनि सत्ता र प्रतिपक्षका नेताहरूसित भनेका कुराहरूबाट त्यसको स्वरूप विशुद्ध आर्थिक मात्र नभएर त्यसको चरित्र चीनविरोधी सैनिक प्रकृतिको भएको कुरा छर्लङ्ग भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७