चुनाव केन्द्रित प्रशिक्षणमा एमाले : परमादेशवालासँग हाम्रो लडाइँ सुरु भयो : ओली


२९ माघ २०७८, शनिबार
kp oli 3 scaled 1

काठमाडौं । नेकपा एमालेले अनौपचारिकरुपमा स्थानीय तहको निर्वाचन अभियान सुरु गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सात वटै प्रदेशमा चुनावकेन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम उद्घाटन गरेका छन् । अध्यक्ष ओलीले ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रम शुक्रबार केन्द्रीय कार्यालय, काठमाडौंबाट भर्चुअलरुपमा उद्घाटन गरेका हुन् ।

अध्यक्ष ओलीले उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा स्थानीय तह निर्वाचन मिनी जनमतसंग्रह भएको भन्दै सबै नेता कार्यकर्तालाई त्यसतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिए । उनले जनता निकै सचेत भएकाले अबको निर्वाचनमा पहिलाजस्तो मतपत्र च्यात्ने तिक्डमबाजी नचल्ने बताए ।

अध्यक्ष ओलीले निर्वाचनमा परमादेशवाला र जनादेशवालाबीच वास्तविक लडाइँ हुने बताए । एमालेले वर्तमान सरकारलाई परमादेशवालाको संज्ञा दिँदै आएको छ । ओलीले पवित्र जनमतले मात्रै देश विकास हुने धारणा राखे । ‘आज हामीले जनादेशमार्गी लोकतन्त्र अपनाएका छौं तर परमादेशमार्गीहरू अहिले सरकारमा छन् । त्यसबाट जनमतको अपमान भएको छ ।

अब निर्वाचनमा परमादेशवाला र जनादेशवालाबीच लडाइँ हुनेछ । जनमतका माध्यमबाट हुने लडाइँमा हाम्रो विजय हुनेछ’, उनले भने । वास्तविक लडाइँको मैदानमा आफूहरू प्रवेश गरेको भन्दै उनले यो लडाइँ स्थानीय चुनावबाट सुरु भएर संघ र प्रदेश निर्वाचनसम्म कायम रहने बताए ।

ओलीले नेता कार्यकर्तालाई वर्तमान सरकारको भण्डाफोर गर्नसमेत निर्देशन दिए । उनले वर्तमान सरकारको चर्को आलोचना गर्दै सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना एमसिसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउने कोसिस गरेको दोषारोपण गरे ।
‘गठबन्धन सरकार बनेको सात महिनामा देशको महत्वपूणर् समय बर्बाद भएको छ, व्यवस्थापिका संसद् चलेको छैन,’ ओलीले भने । भत्ता पचाउने हिसाबले मात्रै अहिले संसद् अस्तित्वमा रहेको ओलीको दाबी छ । ‘सरकार गैरजिम्मेवार ढंगले चलेको छ,’ उनले भने, ‘संसद् कोमा र भेन्टिलेटरमा छ । आफूहरूविरुद्ध अदालतमा मुद्दामामिला गर्ने सभामुख हुँदासम्म संसद् चल्न सक्दैन ।’

ओलीले सरकारले देशलाई गम्भीर कूटनीतिक अप्ठेरोमा फसाउँदै लगेको आरोप लगाउँदै यसबाट मुलुक शक्ति राष्ट्रको खेल मैदान बन्ने अवस्था आएको बताए। एमसिसीबारे सत्ता गठबन्धनकै नेताहरूका विरोधाभासपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउने कोशिस गरेको ओलीको टिप्पणी थियो । ‘एमसिसीका बारेमा सत्तापक्षकै दुइटा नेताले गोप्य वार्ता गर्छन् । पास गर्छौं भनेर किटानी गर्दै पास गर्ने कुरा लेख्छन् ।

यता जनतालाई पास गर्नै हुँदैन भनेर उचाल्छन्, भ्रमित पार्छन्। एउटा नेता पक्षमा बोल्छ, अर्को विपक्षमा बोल्छ । कसका कुरा पत्याउने,’ ओलीले भने, ‘यस्तो संवेदनशील विषयमा सत्ता पक्षका नेताले गैरजिम्मेवार र दुईजिब्रे चरित्र, स्वभाव र प्रवृत्ति देखाएर देशलाई गम्भीर संकटमा पुर्‍याउँदै छन् ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी मुख्यालयलाई पत्र लेख्ने कुरा प्रोटोकलका हिसाबले अनुचित रहेको पनि ओलीले बताए । ‘कुनै एउटा मन्त्रालयअन्तर्गतको विषयलाई प्रधानमन्त्रीले चिठी लेख्ने कुरा अपमानजनक कुरा हो । अध्यक्षले लेख्ने ? रिपब्लिकन पार्टीलाई लेखेको भए हुन्थ्यो,’ उनले भने ।

उद्घाटनका क्रममा सभामुख अग्निप्रसाद सापकोटाप्रति निकै आक्रामक देखिएका ओलीले सरकारले एमसिसी संसद्मा टेबुल गरे सभामुखले रोक्न नमिल्ने बताए । ‘सरकारले संसद्लाई बिजनेस दिन्छु भन्दा सभामुखले रोक्न मिल्दैन । अनधिकृत बलमिच्याइँ गरेका छन् सभामुखले । यो गठबन्धनको पदलोलुपता हो । पहिलेका सभामुखले पनि अनधिकृत क्रियाकलाप गरेकै हो, अहिलेकाले पनि त्यही गरिरहेका छन्,’ ओलीले भने ।

ओलीले एमाले फुटाएर माधव नेपालले बनाएको पार्टीसँग चुनावी तालमेल र एकता नहुने संकेत गरे । उनले एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताए । ‘हामी एक्लै चुनाव लड्छौं, एक्लै विजय हासिल गर्छौं । हाम्रो पार्टी फुटाउने, सरकार गिराउने, जालझेल, षड्यन्त्र र तिक्डम गर्नेहरूसँग कुनै चुनावी तालमेल र पार्टी एकता हुँदैन, भ्रम नराखे हुन्छ । उनीहरूलाई नो इन्ट्री,’ एमाले फुटाएर नेपालले बनाएको नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै ओलीले भने ।

एमालेले विधान महाधिवेशन र दसौं महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, संगठनात्मक र शैलीगत विषयहरू, स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धि र अनुभवहरू, स्थानीय तह निर्वाचन तयारीः राजनीतिक, कानुनी र व्यावहारिक पक्षलाई समेटेर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ ।

घोषित कार्यक्रमअनुसार एमालेले फागुन १ र २ गते प्रदेश १ को विराटनगरमा निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्नेछ । त्यस्तै मधेस प्रदेशको जनकपुरमा फागुन ३ र४ गते, वाग्मती प्रदेशको काठमाडौंमा ६ र ७ गते, गण्डकी प्रदेशको पोखरामा ८ र ९ गते, लुम्बिनी प्रदेशको बुटवल र दाङमा ११ र १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा १४ र १५ गते तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा १६ र १७ गते प्रशिक्षण तथा अभिमुखीकरण गरिनेछ । सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचन हुने घोषणा गरेपछि एमालेले चुनावकेन्द्रित प्रशिक्षण तय गरेको हो ।

प्रशिक्षणमा प्रदेश कमिटीका इन्चार्ज/सहइन्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुख, प्रदेशअन्तर्गत सबै जिल्ला कमिटीका इन्चार्ज/सहइन्चार्ज, प्रदेशअन्तर्गत सबै जिल्ला कमिटीका पदाधिकारी, सबै जिल्ला कमिटीका स्कुल तथा स्थानीय तह विभागका प्रमुख, एमालेबाट जिल्ला समन्वय समितिमा निर्वाचिता प्रमुख/उपप्रमुख, एमालेबाट पालिकामा विजयी प्रमुख/उपप्रमुखहरू, पालिका पार्टी कमिटीका अध्यक्ष सहभागी हुनेछन् । जिल्लास्तरमा पनि यस्तै कार्यक्रम गरिने एमालेले जनाएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७