आजदेखि तीन दिन देशभर मौसम सफा रहने


२९ माघ २०७८, शनिबार
Bandipur Himal tppOkOgEhv

काठमाडौं । आज (शनिबार) देखि तीन दिनसम्म देशभरको मौसम सफा रहने मौसमविदले बताएका छन् । कम्तीमा ३ दिनसम्म कतै वर्षा, हिमपातको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज (शनिबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार सोमबार रातिसम्म लगभग देशभर मौसम सफा रहनेछ ।

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यतिबेला (शनिबार बिहान) पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) छ भने तराईका थोरै स्थानमा हुस्सु /कुहिरो लागिरहेको बुलेटिनमा उल्लेख छ ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ । तर मौसमविद् वरुण पौडेलले अहिलेसम्मको अनुमानमा एक हप्तायता पानी पार्ने तथा हिमपात गराउने कुनै मौसम प्रणाली विकास हुने सम्भावना नदेखिएको जानकारी दिएका छन् ।

‘देशभरमा कतै फाटफुट पानी परिहाल्यो भने बेग्लै कुरा, नत्र उल्लेखनीय वर्षा र हिमपातको सम्भावना छैन’, मौसमविद् पौडेलले शनिबार बिहान नेपालखबरसँग भने ।
यस्तो छ सोमबारसम्मको मौसम पूर्वानुमान

माघ २९ गते शनिबार
दिउँसो –
देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

राति – देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

फागुन १ गते आइतबार
दिउँसो –
देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

राति – देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

फागुन २ गते सोमबार
दिउँसो –
देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

राति – प्रदेश-१, बागमती प्रदेशको पहाडी भूभागका आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

(नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले त्यस दिनको बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नु पर्छ । यसैगरी आंशिक बदली भनेको धरैजसो आकाश खुला, थोरैमा बादल, सामान्य बदली भनेको धेरैजसो आकाशमा बादल, थोरै खुला, पूर्ण बदली भनेको पूरै आकाश बादलले ढाकेको तथा मौसम सफा भनेको आकाशमा कतै बादल नभएको अवस्था हो ।)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७