डिएनए चोरिने डरले फ्रान्सका राष्ट्रपतिद्वारा रुसमा पिसिआर गर्न अस्वीकार


२९ माघ २०७८, शनिबार
1644628837 rush 1200x560 1

पेरिस । आफ्नो डिएनए चोरी हुन सक्ने भन्दै फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले रुस भ्रमणका बेला कोभिड-१९ परीक्षण गर्न अस्वीकार गरेको पाइएको छ ।

राष्ट्रपति माक्रोंले गत साता रुस भ्रमणका अवसरमा कोभिड-१९ परीक्षण गर्न रुसका अधिकारीले गरेको अनुरोधलाई अस्वीकार गरेको भ्रमणटोलीमा संलग्न स्रोतले रोयटर्सलाई बताएको छ । यही कारणले युक्रेन संकटलाई समाधानार्थ मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग माक्रोंले गरेको भेटवार्तामा अत्यधिक दूरी कायम गरिएको थियो । गत सोमबार भएको भेटवार्ताका क्रममा दुई राष्ट्रपतिको बीचमा १३ फिट लामो टेबुल राखिएको थियो ।

जसमा पर्यवेक्षकले आश्चर्य व्यक्त गरेका थिए । यसमा केही कूटनीतिज्ञले रुसी राष्ट्रपतिले कूटनीतिक सन्देश दिन खोजेको तर्कसमेत गरेका थिए । फ्रान्सेली राष्ट्रपतिलाई पिसिआर परीक्षण गर्नुपर्ने वा भेटघाटका क्रममा रुसी राष्ट्रपतिसँग सामाजिक दूरी कायम राख्नुपर्ने भनेर दुई विकल्प दिइएको स्रोतले जनाएको छ ।

‘हामीलाई प्रष्ट थियो- सामाजिक दूरी कायम गर्दा हात मिलाइने छैन र लामो टेबुल राखिनेछ । तर हाम्रा राष्ट्रपतिको डिएनएमा उनीहरूको पहुँच हुने भएकाले हामीले पिसिआर परीक्षणको अनुरोधलाई स्वीकार गर्न सकेनौं,’ फ्रान्सेली राष्ट्रपति सम्बद्ध एक स्रोतले रोयटर्सलाई भन्यो । रुसी डाक्टरले पिसिआर परीक्षण गर्दा यस किसिमको सुरक्षा चिन्ता रहेको स्रोतले बतायो ।

रुसी सरकारका प्रवक्ताले रोयटर्सले यस विषयमा राखेको जिज्ञासा (मेसेज) प्रति तत्काल प्रत्युत्तर दिएनन् । भ्रमण दलमा सहभागी अर्को स्रोतले पनि फ्रान्सेली राष्ट्रपतिले रुसमा पिसिआर परीक्षण गर्न अस्वीकार गरेको बतायो । माक्रोंले रुस भ्रमणअघि फ्रान्समै पिसीआर परीक्षण गरेको र रुस पुगेपछि आफ्नै चिकित्सकबाट एन्टिजेन परीक्षण गरेको उक्त स्रोतले बतायो ।

स्रोतका अनुसार भेटघाटका क्रममा राष्ट्रपति पुटिन जनस्वास्थ्य सुरक्षाको कडा घेरामा रहेको रुसी अधिकारीले बताएका छन् । दुई राष्ट्रपतिले सामाजिक दूरी राखेर गरेको भेटवार्ताको तीन दिनपछि अर्थात् बिहीबार काजिकिस्तानका राष्ट्रपति जोमार्ट टोकायेवसँगको भेटघाटमा भने रुसी राष्ट्रपति पुटिनले हात मिलाएका थिए । उनीहरूले कफी टेबुलमा आमनेसामने बसेर वार्ता गरेका थिए । – रोयटर्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७