राहदानी सिरानीमा, पौरखी हात पाखोबारीमा


प्रकाशित मिति : October 15, 2017

अर्घाखाँची :  अब विदेश जानु छैन । पैसा कमाउन पाखोबारी काफी छ । ३२ महिना कतार बसेर फर्किएपछि फेरि त्यतै जाने तयारी तयारीमा रहेका सन्धिखर्क–८ का गिरीप्रसाद सापकोटा आफ्नो राहदानी सिरानीमुनि राखेर कृषिकर्ममा जुटेका छन् । उनी हाल तरकारी खेती र जर्सी गाई पाल्नमा व्यस्त छन् । ‘सोचेजस्तो रहेनछ विदेश,’ उनले भने, ‘दुस्ख गरेर आफ्नै मुलुकमै केही गर्न सकिन्छ । पाखोबारीमा बेमौसमी तरकारी र गोठमा धेरै दूध दिने गाई–भैंसीबाट आम्दानी राम्रो छ ।’


त्यही बारी हो, जुन बेला वर्षअघि दुस्ख गरेर ६ महिनालाई खान पुग्दैनथ्यो । अहिले उनको बारीमा तरकारीले भरिभराउ छ ।आधुनिक खेती गरेर आम्दानी लिनेतिर उनको ध्यान केन्द्रित छ । तीन जर्सी गाई र एउटा भैंसी पालेका छन् । दैनिक १८ लिटर दूध बिक्री गर्छन् । दूध प्रतिलिटर ५० रुपैयाँमा किन्न ग्राहक घरमै आउँछन् । बारीमा सिमी, बोडी, गोलभेंडा, मूला, साग, आलुलगायत तरकारी दैनिक बेच्छन् । दूध र तरकारीबाट महिनामा ४५ हजार रुपैयाँ बचत भएको उनले बताए । ‘कतारमा यसको आधा पनि कमाइ थिएन,’ उनले भने, ‘छिमेकी साथीभाइका कुरा सुनेरै गएको हुँ । यहाँ जति दुस्ख गर्‍यो त्यति धेरै आम्दानी हुन्छ । अब म विदेश जान्नँ ।’
तरकारी खेती गर्न सिँचाइ सुविधा अभावले त्यति सहज छैन । एक लाख लिटर पानी अट्ने पोखरी छ । वर्षाको पानी संकलन गर्छन् । गाई–भैंसीको पिसाब जम्मा पनि पोखरीमै हुन्छ । ड्रममा बोकेर गहुँत पानीमा मिसाएर तरकारीमा राख्छन् ।
त्यस्तै, यमलाल सापकोटाको ध्यान पनि कृषितिरै छ । उनले रोजगारी खोज्दै कतार र साउदी पनि धाएका थिए । उनले हाल पालेको जर्सी गाईले दिनमा १५ देखि ३० लिटरसम्म दूध दिन्छ । चार गाई र एउटा भैंसी पालेका उनले पालेका छन् । दैनिक ३० लिटर दूध बेच्छन् । दूध र तरकारीबाटै मनग्य आम्दानी भएपछि विदेश जाने उनको सोच फिटिक्कै छैन । गाउँमा गाई पाल्नेको लहर चलेको छ । बिहान र बेलुका संकलन केन्द्रमा कृषकले ल्याएको दूध व्यापारीले गाडीबाट सन्धिखर्क र चुत्राबेसीका डेरीमा पुर्‍याउँछन् ।

बजारमा दूधको माग बढदो छ । काम गर्ने जनशक्ति भएका परिवारले धेरै र कम भएकाले एउटासम्म गाई पालेका छन् । ‘घरपरिवारसँगै बसेर कृषिबाटै राम्रो कमाइ भएको छ,’ उनले भने, ‘मिहिनेत गरेपछि पैसा यहीं रहेछ । अब विदेश जान्नँ ।’ राहदानी बाकसभित्रै छ । तर, पौखरी हात पाखोबारीमै छन् । करिब तीन किलोमिटरको दूरीमा सदरमुकाम छ । ‘बजारमा बस्ने मर्निङवाक आउँछन् र तरकारी बोकेर जान्छन्,’ उनले भने ।

गाउँकै बालबहादुर श्रेष्ठको दैनिक बिहान घाँस काट्ने र दिनभर तरकारी खेतीमा रखबारमै बितेको छ । भारतको नोकरी छाडेरी कृषितिर लागेका उनले दैनिक ६ लिटर दूध बेच्छन् । ‘भारतको नोकरी गर्दा हात–खुट्टा चिल्ला थिए, यहाँ फुटेका छन्, कपडा धूलोमैलो लगाउनुपर्छ,’ उनले भने, ‘मिहिनेतको फलले खुसी छु । कृषिमै आनन्द छ ।’ बारीमा तरकारीबाट र गोठमा दूधबाट कमाइ भएको छ । ५ वर्ष कतार बसेका सिद्धिप्रसाद भुसालले ५ गाई, दुई भैंसी र तरकारीबाट वर्षमा अढाई लाख रुपैयाँ बचत गर्न पाउँदा दंग छन् । कुखुरा पनि पालेका छन् । ‘ढंग पुर्‍याएर परिश्रम गरेपछि फल राम्रो लाग्दो रहेछ,’ उनले भने, ‘मेरो लागि यही पाखोबारी नै प्यारो छ ।’

६८ वर्षीय गंगाराम भुसाललाई घरमा चामल, खर्च लत्ताकपडा जुटाउँदा ऋण खोज्नुपथ्र्यो । साहुले महँगो ब्याज लिन्थे । एक सय रुपैयाँको महिनामा तीन देखि पाँच रुपैयाँसम्म ब्याज तिर्नुपथ्र्यो । जीवन धान्न धौधौ थियो । ‘समयले परिवर्तन गराउँछ भन्ने यही रहेछ,’ उनले भने, ‘दूध र तरकारीले जमाना फेरियो । दैनिक ८ लिटर दूध र तरकारीको पैसाले परिवार पाल्न सजिलो भएको छ । कतै ऋण खोज्न परेको छैन । दुई–चार हजार खल्तीमा पैसा टुटदैन ।’ उनका अनुसार गाउँमा विदेशबाट फर्किएकाले धेरै मिहिनेत गरेर पाखोबारी र गाई–भैंसीको दूधबाट मनग्य आम्दानी लिएका छन् । आठरदस वर्षमै गाउँ ऋण मुक्त भएको छ । तरकारी र दूध बेच्ने कृषक आर्थिक रूपमा समृद्ध भएको उनले बताए ।

 –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्