एमसीसीबारे प्रचण्डको झिल्के-मिल्के अभिव्यक्ति दूर्भाग्यपूर्ण : ईश्वर पोखरेल


२९ माघ २०७८, शनिबार
ishwor pokharel

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भिर नोक्सान पुर्‍याउने काममा अध्यक्ष दाहाल लागि परेको बताएका हुन् । शनिबार काठमाडौं महानगरपालिका-४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले अध्यक्ष दाहालले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गर्ने गरेको आरोप समेत लगाए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हित विपरित हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढनेतर्फ पनि सचेत गराए । उनले जनताको बीचमा फट्याई कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘राजनीतिक ढंगले अनेक खालका दूभाग्यपूणर् विवादहरु देखिरहेका छौं हामीहरू । म एउटा राजनीतिक पार्टीको जिम्मेवार कार्यकर्ता पनि हुँ । राजनीतिक पार्टीका मान्छेहरूमा विकृति आयो भने समाजमा पनि विकृति बढ्छ । राजनीतिक पार्टीका नेता यता हेर्यो यतैका कुरा, उता हेर्यो उताका कुरा, ऊ पर हेर्यो, परका कुरा गर्ने खालका भए भने त्यो फट्याईबाट समाज आक्रान्त हुन पुग्छ । यो कुरालाई पनि चिन्नुपर्ने जरुरी हुन्छ ।’

उनले थप भने, ‘राजनीतिक पार्टीका मान्छेहरुले जे जनताको हितमा, देशको हितमा हुन्छ । त्यो सही कुरा बोल्ने सामर्थ्य राख्नुपर्दछ । नत्र भने यता गयो यताका कुरा, उता गयो उताका कुरा गर्ने चरित्र देखायो भने त्यसले नोक्सानी हुन्छ । जो अहिले हामी देख्दैछौँ, भोग्दैछौँ । विदेशीसित गयो एउटा कुरा, कार्यकर्तासँग भेट भयो एउटा कुरा । जनतासँग गयो अर्कै कुरा । यस्ता खालका झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने खालका कतिपय गतिविधि भएका छन । जो दूर्भाग्यपूणर् कुरा हो । यस्तो हुनु हुँदैन । त्यसकारणले हामी राजनीतिक पार्टीका मान्छेहरु पनि जनताको निगरानीमा बसिराख्यौ भने हामीबाट भूलचुक हुन कमी हुन्छ । भूलचुक हुँदैन । भइहाल्यो भने थोरै होला, सच्याउन सकिन्छ । तर जनताको निगरानीमा बसिएन भने अनि कमजोरीहरू हुन्छन् ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सार्वजनिक सम्पत्तिहरु अतिक्रमण हुन नदिन र त्यसको सदुपयोग हुने गरी अघि बढाउनका लागि स्थानीय तहहरुले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । त्यस अवसरमा उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको हितमा केन्द्रित भएर काम गर्न पनि निर्देशन दिए ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्क, बगैंचा लगायतका सार्वजनिक क्षेत्रहरुको सफाइमा ध्यान दिने र त्यसको सदूपयोग गरेर अघि बढने काममा लाग्न स्थानीयवासीलाई आग्रह गरे । उनले काठमाडौं महानगरपालिकालाई सुन्दर र हराभरा बनाउन आफूहरुले पार्क निर्माण कार्यलाई तीव्रता दिए पनि त्यसको सदुपयोग हुन नसकेको गुनासो गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७