हँसियाले हानेर श्रीमतीको हत्या


२९ माघ २०७८, शनिबार

पर्वत । पर्वतको कुश्मा नगरपालिका-४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका-६ घर भई हाल कुश्मा बजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् ।

शुक्रबार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार मृतक महिलाको शरीरमा निल डामसहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ । प्रहरीले आरोपित श्रीमान् राजु परियारसहित घटनास्थलबाट खुर्पा (हँसिया) पनि नियन्त्रणमा लिएको छ ।

यसअघि पनि पटक-पटक उनीहरूबीच झगडा हुने र सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आएर मेलमिलाप पश्चात फर्किने गरेका थिए । शुक्रबार बिहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियारले मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले बताए ।

मृतकका एक छोरा र एक छोरी छन् । तर दुवै छोराछोरी उनीहरूका साथमा छैनन् । शुक्रबार साँझ मात्रै आफन्तले किटानी उजुरी दिएको र आज उनीहरूका आफन्त आएपश्चात् मृतकको शव बुझाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७