१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध


२९ माघ २०७८, शनिबार
ydfmmg1644657380

काठमाडौं । नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर-लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७३ पुगेको छ ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।

दुवै राजदूतले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर-लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउनेसम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गरेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले आज जनाएको छ ।

त्यस अवसरमा दुवै देशका राजदूतले राष्ट्रिय तथा बहुपक्षीय परिवेशमा विशेषगरी राष्ट्रसंघीय मञ्चहरूमा साझा हितका विभिन्न विषयमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउने विषयमा विचार आदानप्रदान गरेका थिए ।

प्रजातान्त्रिक गणतन्त्र टिमोर-लेस्टे दक्षिण पूर्व एसियामा अवस्थित १५ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको देश हो । १३ लाख ७० हजार जनसंख्या भएको उक्त देशले २००२ सेप्टेम्बर २७ मा राष्ट्र संघको १९१औं सदस्यको रूपमा प्रवेश पाएको हो । नेपाल र टिमोर-लेस्टे असंलग्न आन्दोलनका सदस्य हुन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७