रक्षा र उद्योगमन्त्री नियुक्तिको तयारीमा देउवा, कसको सम्भावना बलियो ?

सुजाता र राजन केसीमध्ये एक जना मन्त्री बन्ने निश्चित


२९ माघ २०७८, शनिबार
deuwa

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री देउवाले शनिबार भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका हुन् ।

देउवाले दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूणर्ता दिने बताएको स्रोतले जानकारी दिएको छ । ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई दुई दिनभित्र पूणर्ता दिने तयारी गर्नु भएको छ, त्यसबारे बिहान सत्ता गठबन्धनका नेताहरूसँग समेत छलफल भएको छ,’ एक मन्त्रीले भने, ‘सम्भवतः सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

हाल रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रिक्त छन् । पार्टीको महाधिवेशनमा महामन्त्री हारेपछि तत्कालीन रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका थिए । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका गजेन्द्र हमालले पनि राजीनामा दिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री नियुक्त भएको भन्दै चौतर्फी आलोचना भएपछि हमालले २४ असोजमा राजीनामा दिएका थिए । रिजाल र हमालले राजीनामा दिएपछि ती मन्त्रालय रिक्त छन् ।

शीर्ष नेताहरूबीच छलफल भए पनि ती मन्त्रालय कुन पार्टीले लिने वा कसलाई मन्त्री बनाउने भन्नेबारे सहमति भइसकेको छैन । प्रधानमन्त्री देउवा भने आफ्नै पार्टीभित्र दबाबमा छन् । देउवामाथि गत महाधिवेशनका सहयोगी नेता प्रकाशमान सिंह समूहबाट एक जना मन्त्री बनाउनुपर्ने दबाब छ भने आफ्नै समूहभित्रको गुनासो सम्बोधनमा पनि दबाब छ । सिंहको सिफारिसमा सुजाता कोइराला र राजन केसीमध्ये कुनै एक जना मन्त्री बन्ने निश्चित छ । रक्षामन्त्रीरे भने अझै टुंगो लागि नसकेको स्रोतको भनाइ छ ।

‘प्रकाशमानजीको सिफरिसमा एक जना मन्त्री नियुक्त हुनुहुन्छ । उहाँलाई सम्भवतः उद्योग मन्त्रालय दिने भन्ने छ’, ती मन्त्रीले भने, ‘रक्षा मन्त्रालय आफैसँग राख्ने कि भन्ने छ । साझेदार दलहरुले मानेनन् भने उद्योग मन्त्रालय उता दिएर रक्षामा प्रकाशमानजीको सिफारिसमा जानेले पाउनु हुन्छ ।’ हाल मन्त्रिपरिषद्मा कांग्रेसबाट प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रबाट ६, एकीकृत समाजवादीबाट ५ र जनता समाजवादी पार्टीबाट ४ मन्त्री छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७