प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : सभामुख हटाउन खोजेको हो ?

प्रतिनिधिसभा बैठक सार्न प्रचण्डको प्रस्ताव


२९ माघ २०७८, शनिबार
deuba prachanda madhav

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ? भनि सोधेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शनिबार) प्रधानमन्त्री देउवा, प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफलका क्रममा उनले यस्तो प्रश्न गरेका हुन् । छलफलमा प्रचण्डले प्रधानमन्त्री देउवालाई सभामुखबारे प्रश्न गरेको उनी निकट एक नेताले जानकारी दिएका छन् ।

प्रचण्डको प्रश्नमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि साथ दिएको ती नेताले जानकारी दिए । सभामुख हटाउन हस्ताक्षर संकलन भएको हल्ला सुनेको भन्दै उनीहरुले प्रधानमन्त्रीको जवाफ मागेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले सभामुख हटाउने विषय सोच्न पनि नसकिने बताएका प्रचण्ड निकट नेताले बताएका छन् ।

‘सभामुख हटाउने विषय सोच्नै सकिँदैन । केही (हस्ताक्षर) संकलन भएको छैन र होइन । अनावश्यक हल्लाको विषयमा कुरै नगरौं’ देउवाको जवाफबारे प्रचण्डको ब्रिफिङ सुनेका उनले सुनाए । छलफलमा अमेरिकी अनुदान ५५ अर्ब रुपैयाँ सहायतालाई संसद्बाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा उनीहरूबीच परामर्श भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट भइरहेको प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचार विमर्श भएको थियो । छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको उनका स्वकीयसचिव गंगा दाहालले जानकारी दिए ।
सत्तारूढ गठबन्धनबीचको एकतालाई आगामी तीनै तहका निर्वाचनसम्म निरन्तरता दिने विषयमा पनि उनीहरूबीच मतैक्यता रहेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७