अरुणमा लगाइएको बेलिब्रिज भाँचियो, तीन वटा ट्रक नदीमा खसे

चालक-सहचालकको उद्धार


१ फाल्गुन २०७८, आईतवार
arun river belibridge HzF2Y5hafC

संखुवासभा । संखुवासभास्थित अरुण नदीमाथि लगाइएको बेलिब्रिज भाँचिएको छ । शनिबार दिउँसो बेलिब्रिज भाँचिँदा तीन वटा ट्रक नदीको बीचमा खसेका छन् । संखुवासभाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचिएको हो । मकालु-५ को नुम र वडा नम्बर-१ वालुङ जोड्ने अरुण नदीमाथि हालिएको बेलिब्रिज शनिबार दिउँसो भाँचिँदा तीनवटा ट्रक अरुण नदीमा खसेका छन् ।

पुलको मध्यभागबाट भाँचिएपछि तीनवटै ट्रक नदीको बीचमा खसेका छन् । दुर्घटनापछि चालक र सहचालकलाई स्थानीयले बचाएका छन् । निर्माण सामग्री बाकेको ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का कार्यपालिका सदस्य पुरन याम्फुले बताए ।

बेलिब्रिज भाँचिँदा इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री बोकेका तीनवटा अरुण नदीमा खसेका हुन् । बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ । पुलको क्षमता भन्दा बढी सामान बोकेर तीनवटा ट्रक तार्ने क्रममा दुर्घटनामा भएको कार्यपालिका सदस्य याम्फुले जानकारी दिएका छन् ।

तीन वटै ट्रक हाइड्रो पावरको निर्माण सामाग्री बोकेर वालुङतिर जाँदै थिए । दुईवटा रड र एउटामा टनेल पाइप थियो । यो बेलिब्रिज २०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुणबाट निर्माण सामाग्री तार्न बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७