एमसीसीविरुद्ध भ्रम फैलाउने काम भयो : कांग्रेस प्रवक्ता


१ फाल्गुन २०७८, आईतवार
Prakash Sharan Mahat

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा भ्रम पैदा गर्ने कोशिस भइरहेको बताएका छन् । चितवनको शारदानगर जेसिजको २२औं पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महतले एमसिसीबारे प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक रहेकोमा जोड दिए ।

एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै उनले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने प्रष्टीकरण दिए । एमसिसी नेपालले नै माग गरेको आयोजना भएकाले यो नेपालको हितमा रहेको पनि उनले बताए ।

प्रवक्ता महतले विगतका सरकारहरुले पनि यस परियोजनाको सहमति तथा सम्झौताका विभिन्न चरणमा निरन्तरता दिँदै आएका प्रसंग उल्लेख अहिले आएर उनीहरुले नै त्यसलाई गिजोल्ने काम गरेको आरोप लगाए । नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने उनले बताए ।

फरक प्रसंगमा प्रवक्ता महतले कांग्रेससँग बहुमत नभएकै कारण देशले विकास पाउन नसकेको बताउँदै आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन आग्रह समेत गरे । उनले भने, ‘विधि, कानुन र संविधानको सर्वोच्चता मान्ने पार्टी कांग्रेस नै हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७