एमालेले बोलायो संसदीय दलको बैठक

‘प्रधानन्याधीशमाथिको महाअभियोग निर्वाचन भाँड्ने षड्यन्त्र’


१ फाल्गुन २०७८, आईतवार
Kp Oli 2

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेले सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।
एमालेका एक सांसदका अनुसार एमालेले पनि संसद् पुनः स्थापनाको फैसला गर्ने न्यायाधीश र सभामुखविरुद्ध महाभियोग ल्याउने बारेमा निणर्य गर्न सक्नेछ । सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निणर्य लिन संसदीय दलको बैठक एमालेले बोलाएको हो ।
‘प्रधानन्याधीशमाथिको महाअभियोग निर्वाचन भाँड्ने षड्यन्त्र’
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचन भाँड्ने योजनाअनुसार सत्तारुढ दलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग अघि बढाएको दाबी गरेको छ । एमालेले परमादेशबाट बनेको सरकारले र त्यसमा आवद्ध दलहरुले न्यायालय नै कब्जा गरी आफूअनुकुलका फैसला गराउने योजनाअनुसार जबरामाथि महाअभियोग हालिएको जनाएको हो ।

एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपालखबरसँग कुरा गर्दै देश निर्वाचनतर्फ अघि बढिरहेको अवस्थामा भएको यो निणर्यलाई आपत्तिजन भनेका छन् । ‘संसदमा रहेका प्रमुख प्रतिपक्षीसँग समेत एक पटक सल्लाह समेत नगरी यो महाअभियोग प्रस्ताव ल्याइएको छ’, नेम्वाङले भने, ’यो प्रस्ताव निर्वाचन भाँड्ने र न्यायालयलाई थप अस्तव्यस्त बनाउने योजनासहित आएको छ । हामी यसको सशक्त प्रतिवाद गर्छौं ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सहयोगी रामशरण बजागाइँले यसलाई निर्वाचन रोक्ने खेल भनेका छन् । उनले अध्यक्ष ओलीले यसबारेमा पार्टीमा आन्तरिक छलफल थालिसकेको बताउँदै अब यसबारे थप निणर्य आउने बताए । ‘यो निर्वाचन रोक्ने खेल हो । सर्वोच्च अदालतको परमादेशले पनि नपुगेपछि उनीहरुले सिधै हस्तक्षेप बढाएका छन् । अदालतले उनीहरुको आदेश मान्नुपर्ने भयो’, उनले भने, ’सत्ताधारी दलहरु भष्मासुरले जस्तो काम गरिरहेका छन् । कतिबेला के गर्छन् भन्ने कुरै छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७