सात थान भरुवा बन्दुकसहित कपिलवस्तुमा तीन जना पक्राउ


१ फाल्गुन २०७८, आईतवार
pakrau 20220213104433

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सात थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । बाणगंगा-२ स्थित मनकामना सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जना र वाणगंगा- ९ चौवास्थित एक घरबाट पाँच थान भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार मनकामना सामुदायिक वनभित्र केही ब्यक्ति भरुवा बन्दुकसहित हिंडिरहेको गोप्य सूचनाको आधारमा शनिबार राति प्रहरी निरीक्षक दिनेश गुरुङको कमाण्डमा प्रहरी टोली खटिएको थियो । टोलीले अर्घाखाची शितगंगा-१४ का ५० वर्षीय विरबहादुर सोमै मगर र २८ वर्षीय खिमबहादुर मगरलाई दुई थान एकनाले भरुवा बन्दुक (लोड गरिएको अवस्थामा) सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी चौवा निवासी ६० वर्षीय रामसमुज थारुको घरमा खानतलासी गर्ने क्रममा गोठको छानो मुनि प्लास्टिकले छोपेको राखेको अवस्थामा लोड गरी राखिरहेको पाँच थान भरुवा बन्दुक बरामद गरेर थारुमाथि अनुसन्धान थालेको छ । तीनै जनामाथि हातहतियार मुद्दामा म्याद थप भई थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७