गठबन्धन दलकै सल्लाहमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : प्रचण्ड

गठबन्धन आन्दोलनको परिणाम हो, भत्किने होइन झन् बलियो हुन्छ’


१ फाल्गुन २०७८, आईतवार
Prachanda janakpur rvpvGuFwq5

धनुषा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलकै सल्लाहमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको बताएका छन् । मधेस सरकारले आइतबार जनकपुरमा गरेको जनयुद्ध दिवस कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सर्वोच्च अदालतको गतिरोध हटाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता गरेको बताएका हुन् ।

‘न्यायालयमा केही समयदेखि अन्योल, अराजकता र बेथिती देखियो । यो राज्य र जनताका लागि दुःखद् कुरा थियो,’ उनले भने, ‘सहज निकास होस भन्ने गठबन्धनको चाहना थियो । हामीले पहल पनि गर्‍यौं ।’

उनका अनुसार न्यायालयको बेथितीको प्रमुख जिम्मेवार प्रधानन्यायाधीश नै भएको र उपाय ननिस्केपछि गठबन्धनमा सहमति गरेर महाअभियोग लगाइएको हो । ‘महाअभियोग लगाएर गठबन्धन भत्किने होइन, बरु झन् बलियो हुन्छ,’ प्रचण्डले भने । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा आइतबार महाभियोग प्रस्ताव दर्ता गरेका छन् ।

कार्यक्रममा प्रचण्डले १२ बुँदे सम्झौता र शान्ति प्रक्रिया नरूचाएका गृह र बाहृय दुबै शक्तिले सत्ता गठबन्धन तोड्ने र चुनावलाई ‘डिरेल’ गर्ने षड्यन्त्र बुनिरहेको आरोप लगाए । उनले त्यस्ता तत्वविरूद्ध जनता फेरि आन्दोलित हुनुपर्ने परिस्थिति बन्नसक्ने आंकलन गरे ।

‘गठबन्धन उल्ट्याउने प्रयास अझै भइरहेको छ,’ नेता प्रचण्डले भने, ‘पहिलो दिनदेखि नै गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको थियो । त्यो प्रयास भयो पनि । गठबन्धन तोड्न अहिले पनि प्रयास गरिरहेका छन् । तर, हामी गठबन्धनलाई अझ बलियो बनाएर लान्छौं । बलियो बनाउन लगातार प्रयत्नशील पनि छौं । केही तत्व गठबन्धन उल्टाउने, चुनावलाई डिरेल पार्ने र दुषित वातावरण बनाउने प्रयास गरिरहेको छ ।’ ‘गठबन्धन कुनै शर्तमा आधारित थिएन । यो आन्दोलनको परिणाम हो । गठबन्धनलाई थप बलियो बनाउन म प्रयासरत छु,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७