प्रधानन्यायाधीश राणाविरूद्धको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने एमाले निर्णय


१ फाल्गुन २०७८, आईतवार
CPN UML Meeting

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने भएको छ । आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले महाभियोगको प्रवृतिको प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिए ।

महाभियोग प्रस्ताव लोकतन्त्रमाथि प्रहार र गणतन्त्रमाथि कमजोर बनाउने षड्यन्त्र भएको एमालेको निचोड छ । बैठकपछि महासचिव पोखरेलले सत्तागठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि गरेको भन्दै महाभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताए।

सत्ता गठवन्धनसँग महाभियोग पारित गर्ने संख्या नहुदानहुदै पनि प्रतिपक्षसँग परामर्श नै नगरि ल्याइएको प्रधानन्यायाधिस विरुद्धको महाभियोग प्रस्ताव षडयन्त्रपूर्ण र नियोजित कदमका रुपमा आएको महासचिव पोखरेलको दाबी छ ।

बैठकपछि महासचिव पोखरेलले लेखेका छन्, ‘यसले सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयको अन्तरालपछि सुरुभएको सम्वादको प्रकृयालाई विथोल्ने र मुलुकलाई नयाँ शिरावाट मुठभेडमा धकेल्ने प्रपन्च वोकेको छ । यस कदमले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्ने र अदालतलाई सत्ताको आदेशपालक बनाउने नियत राखेको छ ।’

पोखरेलले सोमबार बस्ने संसदीय दलको बैठकले महाभियोगको प्रतिवाद गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने बताए । भने, ‘आम जनताले पनि यस्ता कदमलाई असफल पार्नका लागि सचेततापूर्वक अघि बढ्नु आवश्यक छ भन्ने निष्कर्ष हामीले निकालेका छौ । र, हाम्रो संसदीय दललाई यस विषयमा आवश्यक कदम अघि बढाउनका लागि निर्देशन दिने निर्णय गरेका छौ । यसआधारमा भोलि नै संसदीय दलको बैठक बस्नेछ र आवश्यक निर्णयहरु गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७