रसुवाको दालगाउँमा पुग्यो मोटर


२ फाल्गुन २०७८, सोमबार
rasuwa

रसुवा । उत्तरी रसुवास्थित थुमन दालगाउँ सडक सञ्जालसँग जोडिएको छ । गाउँलाई सडक सञ्जालसँग जोड्न यहाँ निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले सहयोग गरेको थियो ।

आयोजना प्रभावित क्षेत्रभित्र बसोबास गर्ने बासिन्दालाई सडक मार्गको सुविधा पुर्‍याई उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्यले पाँच किलोमिटर सडक निर्माणमा गरिएको जनाइएको छ । भिरालो जमिन भएका कारण वातावरणीय पक्षलाई विशेष ध्यान दिँदै आयोजनाको आफ्नै उपकरणले सडकको ट्रयाक खुलाएको थियो । अहिले गाउँमा हल्का सवारी साधन पुगेपछि स्थानीय बासिन्दा अत्यन्तै हर्षित भएका छन् ।

स्थानीयवासी बलबहादुर घलेका अनुसार सो सडकले गोसाइँकुण्ड गाउँपालिका-१ दालगाउँका ४६ घर परिवारलाई यातायातको पहुँच पुर्‍याएको छ । मोटरबाटो निर्माण गर्दा निस्किएको खुकुलो माटो जमेपछि टेवा पर्खाल र नालीसमेतको व्यवस्था हुनेमा आफूहरू आशावादी भएको दालगाउँका बासिन्दाले बताएका छन् ।

यस्तै सो आयोजनाले गोसाइँकुण्ड -१ कै थुमनगाउँमा बसोबास गर्ने करिब ४०० घर परिवारलाई समेत यातायातको पहुँच पुर्‍याउने काम सम्पन्न गरिसकेको छ । रोङ्गा खोला मेन्दोगाङ, गोदेगाङ र तार्सा गाउँको बस्तीलाई समेत केन्द्रबिन्दु पार्दै थुमन गाउँमा ग्रामीण सडक निर्माण गरेको हो ।

गाउँ सडकसञ्जालसँग जोडिएपछि बिरामी अस्पताल लान, खाद्य सामग्री ल्याउन, समयअनुसार थुमनमा उत्पादित कृषिउपज ताजाताजै व्यापारिक केन्द्र पुर्‍याउन सजिलो भएको स्थानीय समाजसेवी लोप्साङ तामाङले जानकारी दिए । यातायातको सुविधासँगै अहिले अनेत्र जिल्लामा उत्पादन इँटा समेत निर्माणमा प्रयोग हुन थालिसकेको समाजसेवी उनले बताए । यसैगरी आयोजनाले थुमन गुम्बा निर्माण, ग्रामीण विद्युतीकरणका साथै विविध सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७