सिद्धबाबा सुरुङ मार्गको ठेक्का चिनियाँ कम्पनीलाई, सात अर्ब ३४ करोड लागत


२ फाल्गुन २०७८, सोमबार
sidhababa

पाल्पा । बुटबल-पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ ।

सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले आइतबार सार्वजनिक सूचना जारी गर्दै सिद्धबाबा सुरुङमार्गको ठेक्का चाइना स्टेटले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रूपैयाँमा पाएको हो । सुरुङमार्गको प्राविधिक छनोटमा चार वटा कम्पनी परेका थिए । प्राविधिक प्रस्ताव पेस गरेकामध्ये सबैभन्दा कम कबोल गर्ने चाइना स्टेट छानिएको हो । फस्र्ट हाइवे इन्जिनियरिङ कर्पोरेसन, सिओभिइसी-सिआरइजिसी जेभी र सिसिइसिसी-सिआरसिसी १४-सियुयान जेभी प्राविधिक प्रस्तावमा छनोट भएका थिए ।

सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा कम रकममा निर्माण गर्ने कबोल गर्ने ठेकेदार कम्पनीलाई छनोट गरिएको हो । यो सुरुङमार्ग इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन (इपिसी) मोडलमा निर्माण गर्न लागिएको हो । केन्द्रका अनुसार आर्थिक प्रस्ताव खोलेको ७ दिनसम्म उजुरी गर्ने समयसीमा हुन्छ । एक महिनाभित्र छानिएको ठेकेदार कम्पनीसँग सम्झौता गर्ने म्याद तोकिएको हुन्छ । ठेकेदार छनोट भएको ९ महिनाभित्र इपिसी मोडलमा डिजाइन तयार पार्ने योजना राखिएको छ ।

छनोट भएको कम्पनीले डिजाइन तयार पारेर सडक विभागले स्वीकृत गरेपछि मात्रै सुरुङमार्ग निर्माणले गति लिनेछ । केन्द्रले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा ९ वटा कम्पनी सहभागी भएका थिए । ती ९ मध्ये ४ वटा चिनियाँ कम्पनी प्राविधिक प्रस्तावमा छानिएका थिए ।

ठेक्का पाउने कम्पनीले सुरुङमार्ग पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । डिजाइन बनाउन करिब ६ देखि ९ महिनाको अवधि तोकिएको छ । बोलपत्रमा छनोट हुने कम्पनीले ९ महिनाभित्रै सुरुङमार्ग तथा रकसेटको डिजाइन तयार पारेर सडक विभागलाई बुझाउनु पर्ने हुन्छ । केन्द्रले सुरुङमार्ग करिब ५ वर्षको अवधिभित्र निर्माण सम्पन्न गर्ने योजना बनाएको छ । बुटबल-तानसेन खण्ड अन्तर्गतको सिद्धबाबा मन्दिरको उत्तरतर्फ चिडियाखोलाको छेउमा सुरुङमार्गको एउटा मुख रहने छ । अर्को मुख दोभान नजिकै रहनेछ ।

यो सुरुङमार्गको लम्बाइ १.१२६ किलोमिटर रहनेछ। यो सुरुङमार्ग दुई लेन अर्थात साढे ७ मिटर चौडा हुनेछ । ठेकेदार कम्पनीले सुरुङमार्गसँगै ७ सय ८० मिटर क्षेत्रको सडकमा रकसेटको संरचना समेत तयार पार्नु पर्नेछ । अहिलेको सडकलाई दुई लेनमा विस्तार गरिनेछ । केन्द्रका अनुसार यो खण्डमा सुरुङमार्ग मात्रै नभएर दुई लेनको सडक समेत विस्तार गरिनेछ। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७७ मंसिर १ गते मन्त्रस्तरीय निणर्य गरी सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि १० अर्ब १५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेका थिए ।

सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको खण्डमा अत्यधिक मात्रामा पहिरोको जोखिम छ । सो खण्डमा हिउँद र बर्खामा पहिरोको कारण बर्षेनी दर्जनौंले ज्यान गुमाइरहेका छन् ।

माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको इलाकामा स्विस सरकारको विकास सहयोगमा भौगर्भिक तथा पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो । स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसनले सिद्धबाबा सुरुङमार्गको पूर्व सम्भाव्यतता अध्ययन गरेको थियो । केन्द्रले सोही पूर्व सम्भाव्यता अध्ययनमा टेकेर सुरुङमार्ग निर्माणको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो । यो खण्डमा पहिरोमा परेर अहिलेसम्म ४५० भन्दा धेरैले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७