गुण एयरको जहाजमा चरा ठोक्किएपछि आकस्मिक अवतरण


२ फाल्गुन २०७८, सोमबार
Gun air

काठमाडौं । काठमाडौंका लागि आइतबार साँझ विराटनगरबाट उडेको गुण एयरको जहाजमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । ‘टेक अफ’ गर्दै गरेको गुण एयर ३० सिटे विमानमा लाटोकोसेरो ठोक्किएपछि आकस्मिक अवतरण गरिएको विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले जानकारी दिए । खरेलका अनुसार विराटनगरबाट आइतबार साझ साढे ६ बजे टेक अफ गर्ने बेलामा बिमानमा चरा ठोक्किएको हो ।

त्यस लगत्तै एक चक्कर घुमाएर चालकले जहाजलाई सुरक्षित रुपमा विराटनगर विमानस्थलमै अवतरण गरेका छन् । चरा ठोक्किए पनि विमानमा कुनै क्षति नभएको र यात्रुहरु पनि सकुशल रहेका विमानस्थल कार्यालयले जनाएको छ । धावनमार्ग छाड्ने क्रममा जहाजमा लाटोकोसेरो ठोक्किएको हो ।

उडेको करिब ५ मिनेटपछि पुनः फर्काएर चालक दलका सदस्यले जाहाजलाई सुरक्षित साथ अवतरण गराएका छन् । ७२४ उडान नम्बर रहेको जहाजमा ३० यात्रु र ३ जना चालक दलका सदस्यसहित ३३ जना थिए । बिमानमा ठोक्किएपछि लाटोकोसेरो भने मरेको छ ।

खरेलका अनुसार धावनमार्ग छाड्न साथ जहाजको देव्रेतर्फको इन्जिनको भाग आवश्यकताभन्दा बढी तात्न थालेको खुलेको छ । ‘इन्जिन’ ‘हिट’ हुन थालेको पत्ता लगाएर जहाजलाई फर्काएर ‘ल्यान्ड’ गराउन चालक दलका सदस्य सफल हुँदा ठूलो दुर्घटना हुन पाएन,’ उनले भने, ‘३३ जनाको ज्यान बाँचेको छ ।’ जहाज अवतरण गराएर यात्रुहरुलाई ढोकाबाटै सुरक्षित साथ निकालिएको थियो । काठमाडौंबाट इन्जिनियर आएर आवश्यक मर्मत गरेरपछि मात्रै जहाज पुनः सञ्चालन गरिने गुण एयरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७