झ्याउरेबासीले अब पानी लिन खोला झर्नु पर्दैन


२ फाल्गुन २०७८, सोमबार
49 Shares
water

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका-१० को चुरे काछमा अवस्थित झ्याउरे बस्तीकी ६० वर्षीया सन्तमाया तामाङको अनुहारमा अहिले चमक आएको छ । आफ्नै बस्तीका लागि खानेपानी आयोजनाको काम थालिएपछि तामाङ खुशी भएकी छन् ।

बर्दिबास-१० र ११ को चुरे काछका विकट बस्तीका १९४ घरपरिवारका लागि शनिबार झ्याउरे भाङ्ग्रे खानेपानी आयोजनाको काम सुरु भएको छ । बर्खामा खोलाको धमिलो पानी खाँदै आएका यहाँका आधा दर्जनभन्दा बढी बस्तीमा अहिले खुसी छाएको छ । रोटरी क्लब बर्दिबास र बर्दिबास नगरपालिकाले संयुक्तरुपमा आयोजना सुरु गरेका हुन् । ‘पानी लिन अब खोला झर्नु पर्दैन होला,’ सन्तमायाले भनिन् । दुई निकायले ७१ लाखको लागतमा आयोजनाका काम थालेपछि चुरे काछका शिर, बम्जनटार, पूर्वखोला, झ्याउरे, आँपडाँडा, सातदिने, भालुजोरा, भाङ्ग्रे, गर्दीदोभानसहितका पाखा बस्तीमा खानेपानी पाइने आश जागेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तामाङकै छिमेकी गङ्गीमाया गोले पनि आफूहरुका लागि खानेपानीको जोहो हुन लागेको कुराले छिन् । सिन्धुली र महोत्तरी छुट्याउने चुरे पाहाड दक्षिणको काछमा अवस्थित बर्दिबास नगरका यी बस्ती शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र सञ्चार सुविधाबाट बेखबरझैं छन् ।
‘के गरम् गरिबको घरमा जन्म भोइछ (भएछ), पुर्खा याँही बसेछन्, जे जस्तो छ आफ्नो ठाममा रमाइन्छ,’ भालुजोरा बस्तीका ७० वर्षीय संसारसिंह थिङले भनिन् । यी बस्ती चुरेबाट निस्कने नदीका दायाँबायाँ थुम्कामा छन् । हिउँदभरि हिँडडुल गर्न, बजार जान सजिलै सकिए पनि खोलाकै बाटो हुनाले बर्खा लागेपछि यहाँका बासिन्दा घरघरै थुनिन्छन्। ‘न बाटो, न पुलपुलेसा, बर्खा लागेपछि त हाम्रो संसार भनेको आफ्नै घर वरिपरि हो’, बर्दिबास-१० कै बम्जनटारका ७० वर्षीय पूणर्बहादुर बम्जनले भने ।

क्लबले ८० र नगरपालिकाले २० प्रतिशत खर्च जुटाउने सो आयोजना यसै आर्थिक वर्ष भित्रै सम्पन्न गरी बस्तीका १९४ परिवारका घरघरमै धारा जडान गरेर पानी वितरण गर्ने योजना छ । आयोजनाबाट यी बस्तीका एक हजार १८५ जनसंख्या लाभान्वित हुने क्लबका अध्यक्ष विष्णु खड्काले जानकारी दिए ।

jagdamba.cement

बम्जनटारस्थित पाखाको कापस्थित पुरानो जरुवा मुहानलाई पक्की पर्खालले घेराबेरा गरी पानी सञ्चित गरेर पानी भण्डारण गर्ने दुई टङ्की निर्माण गरिने आयोजनाले जनाएको छ । दुई टङ्कीमा जम्मा हुने प्रशोधित पानी पाइपबाट घरघरै धारा जडान गरेर वितरण गरिने आयोजनाका इञ्जिनियर रोहितकुमार यादवले जानकारी दिए । आयोजना यो आर्थिक वर्ष सिद्धिनुअघि सम्पन्न हुने यादवले बताए ।

हिउँदमा खोलाको बगरैबगर वन सम्पदा र नदीजन्य बस्तु ओसार्न चल्ने ट्याक्टर बाहेक यहाँका बासिन्दाले मोटर बसलगायतका आधुनिक सवारी साधन देख्न २० किलोमिटर बाटो छिचोलेर पूर्वपश्चिम राजमार्ग आइपुग्नुपर्छ ।

स्वास्थ्य संस्था र बजार भेट्न आफ्नै वडा भए पनि १३ किमी दूरीको खयरमारा बजार पुग्नुपर्ने बाध्यता छ । यी करिब आधा दर्जन बढी बस्तीका बीच भाङ्ग्रेमा एउटा आधारभूत तहको विद्यालय छ । पाँच कक्षा उत्तीणर् गरेपछि पढ्न १५ किलोमिटर दूरीको खयरमारास्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय पुग्नुपर्छ । यो असुविधाले रहर हुँदाहुँदै धेरैजसो बालबालिका पढाइ छाडेर बाख्रा गोठालो बन्न विवश भएका पूर्वखोला बस्तीकी सनसरीमायाँ थिङ्को भनाइ छ ।

‘क्या गर्नी हजुर, पाँचसम्म त भुराभुरी (छोराछोरी) ले यही गाउँमा पढ्यो, मोन (मन) त छ नि, यी पढालेखा गरुन् भन्ने, तर सावगासले दिएन,’ छोराछोरी पढाउन नसकेको विवशता खोल्दै उनले भनिन् । पूर्वपश्चिम राजमार्ग र बर्दिबास-सिन्धुली-बनेपा सडक (विपी राजमार्ग) को सङ्गम रहेको बर्दिबासचोक र चुरे काछका यी बस्ती एउटै पालिका (स्थानीयतह) मा पर्छन् । नगरक्षेत्रभित्रका चुरे काछका बस्तीका बासिन्दाले मीठो खान चाडपर्व कुनुपर्ने अवस्था रहेको बर्दिबास-११ का सामाजिक कार्यकर्ता निरनाथ गेलाल बताउँछन् ।

यी बस्ती राजनीतिक पहुँचबाट निकै टाढा छन्, कतिपय यसै भूगोलका जनप्रतिनिधि नै आफ्नो क्षेत्रको विकटताबाट अपरिचित छन् । ‘भर्खर खानेपानी आयोजनाको शिलान्यास त भयो, तर खै चुनाव नजिकिएका बेला यो काम गर्न हो की भोट बटुल्न हो, बुझ्नै सकस छ,’ गेलाले भने ।

यसअघि पनि चुनाव क्रममा यहाँका बासिन्दाले बाटोघाटो, खानेपानी, सिँचाइ, स्वास्थ्य संस्था र विद्यालयको आश्वासन पाए पनि काम भने केही हुन नसक्दा अहिले पनि भइहाल्ला भन्ने भित्री विश्वास चैँ सर्वसाधारणले गर्न नसकेको उनी बताउँछन् ।

अधिकांश तामाङ जाति समुदायको बसोबास रहेको यी बस्तीमा एकाध घर अन्य समुदायका दलित भेटिन्छन्। अनुकूल वर्षा हुँदा बिराएको पाखाबारीमा मकै र कोदो टिप्न पाइएको भालुजोराकी ६० वर्षीया सञ्चमाया तामाङ बताउछिन् । खेतबारीमा लगाइएको अन्नबाली पनि बाँदर, बँदेललगायतका वन्यजन्तुले खाएर उब्रेको मात्र टिप्न पाइने गरेको उनको भनाई छ । यसबाहेक यहाँका बासिन्दाको गुजाराको व्यवसाय बाख्रा, कुखुरा र राँगा पालन हो । चुरे काछका यी बस्तीलाई विकाससँग जोड्न स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले संयुक्त पहलकदमी लिन पर्ने बुद्धिजीवीको मत छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७