सोलु करिडोर प्रशारण लाइन सञ्चालन, पूर्वी तराईको विद्युत सेवा भरपर्दो हुने


२ फाल्गुन २०७८, सोमबार
solu koridor

सोलुखुम्बु । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रशारण लाइन सञ्चालन आएको छ ।

नेपाल सरकारको लगानी र भारतीय निर्यात-आयात (एक्जिम) बैंकको सहुलियतपूणर् ऋणमा निर्माण भएको प्रसारण लाइनलाई सोमबार बिहान ११.३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरूको संख्या ३०२ वटा छ ।

सोलु करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत तिंलामा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, ८ एमभिए क्षमताको सब स्टेसन निर्माण गरिएको छ । सब स्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ । तिंला सब स्टेसनबाटै सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा विद्युत् आपूर्ति हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार छनोट भएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्थालगायतका कारण आयोजना निर्माणमा केही ढिलाइ भएको बताए ।

‘सोलु नदी बेसिनमा निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ, निर्माण सम्पन्न भई बर्खाको समयमा पूणर् क्षमतामा चल्न नसकेको २३.५ मेगावाटको सोलु खोला र निर्माणाधीन जलविद्युत आयोजनाको प्रशारण पूर्वाधार अभावमा विद्युत् प्रवाहको समस्या समाधान भएको छ’, घिसिङले भने ।

‘आयोजनाहरूको विद्युत् सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लामा हाम्रो आफ्नै उत्पादनबाट आपूर्ति दिन सकिन्छ भने बढी भएको विद्युत् ढल्केबर सब स्टेसनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो हुन्छ ।’ उनले तिंला सब स्टेसनबाट विद्युत् आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङको विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्ने उल्लेख गरे ।

२३.५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोशी) ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत आयोजनाको विद्युत् तिंला सबस्टेसनमा जोडिने छ । यही प्रशारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३२५ मेगावाटको विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) गरेको छ ।

सोलु करिडोर प्रशारण लाइनको निर्माणमा केही ढिला हुने देखिएपछि २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजनाको विद्युत् पोहोर फागुनबाट अस्थायी रूपमा ३३ केभी लाइनमा जोडिएको थियो । प्रशारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका—४ मरुवामा करिब दुई वर्ष अवरोध भएको थियो । सोलु करिडोर प्रशारण लाइन आयोजना निर्माणमा धेरै ठूला समस्या र अवरोध भोगिएको र यसबाट पाठ सिक्दै अन्य आयोजनाहरू निर्माण गरिनु पर्ने आयोजना प्रमुख जनार्दन गौतमले बताए । प्रशारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३ को असोजबाट कार्यान्वयनमा आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७