प्रधानन्यायाधीश महाभियोग प्रकरणबारे ओलीले भने, ‘आवेग र उत्तेजनामा निर्णय लिन्नौं’


२ फाल्गुन २०७८, सोमबार
amale samsadiya dal baithak1644820253

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अहिलेको परिस्थिति गम्भीर रहेको भन्दै गम्भीर सोच-विचार गर्दै आवेग र उत्तेजनामा नआई निर्णय लिने बताएका छन् ।

नयाँ बानेश्वरस्थित ल्होत्से भवनमा भएको एमाले संसदीय दलको बैठकमा उनले एमाले सांसदहरूको धारणा सुनेपछि उक्त प्रतिक्रिया दिएका हुन् । ‘अहिलेको परिस्थिति गम्भीर र अफ्ठ्यारो छ बिना उत्तोजना केही नगरिकन वस्तुगत भएर सोच्छौं र छलफल गरेर निर्णय गर्छौं,’ अध्यक्ष ओलीलाई उद्धृ गर्दै एमाले स्थायी कमिटीका सदस्य घनश्याम भुसालले भने ।

बैठकमा भुसालले महाअभियोग लगाइएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विषयलाई बोकेर चुनावमा जान नसकिने बताएका थिए । साथै यी दुई मुद्दा बोकेर चुनावमा जानु राजनीतिक रुपमा गम्भीर गल्ती हुने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले भने भुसाललाई जवाफ दिँदै गम्भीर परिस्थिति रहेकोले उत्तेजित नभइकन निणर्य लिनुपर्ने बताएका थिए । सचिवालयले यसबारे निर्णय गर्ने उनको भनाइ थियो । सोमबार बिहान ११ बजेपछि बानेश्वरमा सुरु भएको संसदीय दलको बैठक जारी छ । अहिले बैठकमा सांसदहरू बोल्ने क्रम जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७