एमालेको तयारी : चार न्यायाधीश होइन कामु प्रधानन्यायाधीश विरुद्ध मात्रै महाअभियोग


२ फाल्गुन २०७८, सोमबार
KP Sharma oli

काठमाडौं : सत्ता पक्षका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तातेको छ । महाअभियोग लगत्तै आइतबार साँझ नै बालकोटमा एमाले सचिवालयको बैठक बस्यो ।

सोमबार संसदीय दलको बैठक बस्यो । जबराविरुद्धको महाभियोग स्थानीय निर्वाचन सार्ने, अदालतलाई थप विवादित बनाउने र एमसिसी पास गर्ने गलत नियतका साथ आएको निष्कर्ष एमालेको छ । उसले आवश्यकताअनुसार सडक, सदन र अदालत तीनै ठाउँमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

सोमबार भएको संसदीय दलको बैठकमा नेकपा एमालेले सांसदहरुलाई खाली पानामा हस्ताक्षार गराएका छन् । एमालेले ६ पृष्ठ खाली कागजमा सांसदहरुको हस्ताक्षर संकलन गरेको हो ।

यद्यपि भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्ट । कुन प्रयोजनका लागि संकलन गर्न खोजिएको हो त्यो कदमबारे प्रष्ट नभएकाले आफूहरुले हस्ताक्षर नगरेको बताए।

एमालेले सुरुमा प्रतिनिधिसभा पुनर्स्थापना र परमादेश जारी गर्ने फैसलामा संलग्न चार न्यायाधीशविरुद्ध महाभियोग लगाउने तयारी गरेको थियो । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार कानुनी प्रतिवादको जिम्मेवारी उच्च नेतृत्वलाई दिएको जानकारी दिँदै सांसदहरूको हस्ताक्षर संकलन गरेर तयारी अवस्थामा राखिएको छ ।

एमाले नेताहरुका अनुसार आइतबार साँझ बसेको सचिवालय बैठकमा प्रतिनिधिसभा विघटन बदर गर्ने चार न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा विरुद्ध नै महाअभियोग दर्ता गर्ने विषयमा छलफल भएको थियो ।

नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले भोलि (मंगलबार) सम्ममा पार्टीले महाअभियोग प्रस्ताव ल्याउने बताएका छन्।

स्रोतका अनुसार मंगलबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीविरुद्ध मात्रै महाअभियोग लैजाने रणनीति एमालेले बनाएको छ । एमालेका एक सांसदले भने, ‘मंगलबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीविरुद्ध महाअभियोग प्रस्ताव लैजान्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७