बलात्कार आरोपमा पक्राउ परेका व्यक्ति हतकडीसहित भागे, प्रहरीले मिलेमतोमा भगाएको आरोप


३ फाल्गुन २०७८, मंगलवार
pakrau
सांकेतिक तस्वीर

महोत्तरी । सेटिङमा जुवा खेलाएको भन्दै यसअघि आलोचना व्यहोरेको महोत्तरीका प्रहरी फेरि अर्को घटनाका कारण चर्चामा आएको छ ।
जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त पक्राउ गरेको प्रहरीको घेराबाट भागेपछि फेरि प्रहरीमाथि आलोचना शुरु भएको हो । पीडित पक्षले प्रहरीको मिलेमतोमा अभियुक्तलाई भगाइएको आरोप लगाएको छ । जबरजस्ती करणीका फरार अभियुक्त जितु मण्डललाई प्रहरीले भगाएको पीडित पक्षको आरोप छ ।

मण्डलविरुद्ध १० साउन २०७७ रातको ९ बजे जिल्लाको रामगोपालपुरकी एक महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले किटानी जाहेरी दिएका थिए । जिल्लाकै औरही नगरपालिका बस्ने २६ वर्षीय जितु मण्डलसहित सोही उमेरका खुस्रे मुखियाले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेसँगै उनीहरु फरार भएका थिए ।

रातको ९ बजे शौच गर्न निस्किएकी महिलालाई दुई जनाले जबरजस्ती करणी गरेको प्रमाणहरु घटनास्थलवाट बरामद भए पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको थिएन । ‘हामी न्यायको लागि सयौ पटक जिल्ला प्रहरी कार्यालय जलेश्वर पुग्यौ तर प्रहरीले खोजी हुँदै छ भन्दै टारे’, पीडित महिलाका देवरले गुनासो गरे ।
कस्तो थियो घटना ?
एक बर्षदेखि फरार अभियुक्त जितु मण्डल शुक्रबार मामाघर आउने सुइको पाएपछि स्थानीयहरुले प्रहरीलाइ खबर गरे । गत शुक्रवार आरोपित भनिएका मण्डल भंगाहा नगरपालिकास्थित मेघरौलमा मामाघरमा पनि आए ।

शुक्रबार प्रहरीहरु मामाघरमा नै पुगेर मण्डललाई पक्राउ गर्‍यो । उनी पक्राउ परेपछि पीडित परिवारमा न्याय पाउने आशा पलाएको थियो । तर जब अभियुक्त मण्डल हतकडीसहित भागेको थाहा पाए तब पीडितहरुको घाउ झन आलो बन्यो । वडा अध्यक्ष जितेन्द्र चौधरीका अनुसार मण्डल भागेको हो कि भगाइएको हो भन्ने बिषयमा प्रहरीकै मत बाझिएको छ ।

उनले भने ‘प्रहरीले मण्डल हतकडीसहित भागेको भनेका छ । तर हतकडी लगाइएको ब्यक्ति सजिलै कसरी भाग्यो भन्नेमा विभिन्न आशंका छन्, प्रहरीसँग कुरा गर्दा कहिले हतकडीसहित भागेको भन्छन्, कहिले हतकडी फुकाई दिएपछि भागेको भन्छन् ।’

प्रहरीले हत्कडीसहित भागेको दाबी गरे पनि हत्कडी भने प्रहरी कार्यालमानै रहेको दाबी स्थानीयको छ । प्रहरीको हतकडीसहित भागेको वा हत्कडी खोलेर भगाइएको विषय यतिबेला महोत्तरीमा चर्चामा रहेको छ । पीडित महिलाका देवरले प्रहरीले अभियुक्त मण्डललाई मिलोमतोमा नै भगाएको आरोप लगाएका छन् ।

करणी भएको ठाउँवाट मण्डल र मुखियाको ज्याकेट, मोबाइल समेत बरामद गर्दा पनि पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाउन नसक्नु र आरोपित मण्डललाई भगाउने चलखेल हुनुले घटनामा प्रहरीको मिलेमतो रहेको आरोप पीडित पक्षको छ । घटनालाई नजिकबाट नियालेका वडा अध्यक्ष जितेन्द्र चौधरीले समेत प्रहरीको अनुसन्धान शंकाको घेरामा रहेको दाबी गरे । उनले अभियुक्तलाई उन्मुक्ति दिन खोजिएको बताए ।
प्रहरीले भने घटनालाई ठूलो बनाएर मिडियावाजी नगर्न भन्दै धम्कीका साथै प्रलोभन समेत पार्न खोजेको अडियो समेत प्राप्त भएको छ । घटनाबारे प्रहरीमाथि नै अनुसन्धान गर्न पीडित पक्ष र स्थानीयको माग छ । बोल्न नसक्ने महिला सौच गर्न गएको वेला उखुवारीमा लगेर जवरजस्त करणी गरेको विभिन्न प्रमाण भए पनि पीडितलाई पीडक पक्षले उजुरी गरेपछी धम्की दिँदै कुटपिट समेत गरेको पीडित महिलाका श्रीमानले बताए ।

के छ प्रहरीको भनाइ ?
प्रहरीले भने जाहेरीपछि सुक्ष्म रुपमा अनुसन्धान भइरहेको दाबी गरेको छ । अपराधीलाई सजाय दिलाउन प्रहरीले हदैसम्मको प्रयास गरिरहेको एसपी दिनेश आचार्यले बताए । अभियुक्तलाई भगाइएको वा भागेको विषयमा छानबिन भइरहेको एसपी आचार्यले बताए । अभियुक्त प्रहरीबाट भगाइएको र पीडित पक्षमाथि हातपात गरेको आरोपमा मण्डलकी आमालाई प्रहरीले पक्राउ गरि छानिबिन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७