एमसीसी पास गर्न कांग्रेस तयार, भोलिको वैठकमा पेस गर्ने तयारी

‘एमसीसी नेपालको हितमा छ’


३ फाल्गुन २०७८, मंगलवार
congress samsadiya dal bait1644901206

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता नेपालको हितमा रहेको भन्दै त्यसलाई पास गर्नुको विकल्प नरहेको बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा मंगलबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको र त्यसलाई पास गर्नुको विकल्प नरहेको बिफ्रिङ गरेका थिए । बैठकबाट बाहिरिने क्रममा सांसद शशांक कोइरालाले प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्छ भनेर बिफ्रिङ गरेको र बैठकमा त्यही विषयमा छलफल भएको जानकारी दिए । ‘बैठकमा एमसीसी पास गर्नेबारे छलफल भयो । सबैले एमसीसी पास गरौं भन्नु भएको छ,’ उनले भने ।

बैठकमा पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसी सम्झौता र त्यसले नेपालका लागि पुर्‍याउने फाइदाबारे जानकारी गराएका थिए । ‘उहाँले एमसीसी नेपालको हितमा छ, अहिलेसम्म धेरै वटा देशहरूमा एमसीसी चलिरहेको छ । ती देशहरूमा न अमेरिकी सेना पुगेका छन्, न कुनै हस्तक्षेप भएको छ,’ बैठकमा महतले भनेका थिए, ‘हामीकहाँ मात्रै विकासका लागि आउने अनुदानबारे भ्रम फैलाइएको छ ।’ बैठकमा महतले कांग्रेसले एमसीसीबारे फैलाइएका भ्रमहरू चिर्न सक्नुपर्ने बताएका थिए ।

प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बुधबारको बैठकमा एमसीसी सम्झौता छलफलका लागि पेश गर्नेबारे समेत बैठकमा छलफल भएको छ । प्रधानमन्त्री देउवाले यसअघि नै फेब्रुअरी २८ भित्र एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रतिवद्धता जनाइसकेका छन् । त्यसकालागि अब डेढ हप्तामात्रै बाँकी छ ।

प्रधानमन्त्री देउवाले सोमबार सभामुख अग्नीप्रसाद सापकोटाको आह्वानमा बसेको सर्वदलीय बैठकमा एमसीसी संसद्मा पेश गर्न प्रस्ताव गरिसकेका छन् । नेताहरूका अनुसार बुधबारको बैठकमा एमसीसी सम्झौता संसद्मा टेबल गर्ने तयारी छ । संसदीय दलको बैठक अहिले पनि चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७