डडेल्धुरामा युवकको हत्या आरोपमा तीन जना पक्राउ


३ फाल्गुन २०७८, मंगलवार
death

डडेल्धुरा डडेल्धुरामा मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी एक जना युवकको हत्या गरिएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका-३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
सोमबार बिहान जिल्लाको आलीताल गाउँपालिका-४ मा घाइते अवस्थामा भेटिएर उपचारका क्रममा जोगबुढा अस्पतालमा ज्यान गुमाएका सिजापतिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर पालले परशुराम नगरपालिका-१२ मा बस्दै आएका २४ वर्षीय आशिष बराल (मृतकका आफन्त) को घरमा आइतबार राति मृतकसहितका तीन जनाले सँगै बसेर मदिरा सेवन गरेको पाइएको बताए । मदिरा सेवनपछि आपसी विवादका क्रममा सिजापतिमाथि कुटपिट गरेर उनीहरुले राति करीब १२ बजेको समयमा अटो रिक्सामा बोकेर उनलाई घाइते अवस्थामा आलीताल गाउँपालिका-४ मा फालेका थिए ।

स्थानीयले सिजापति घाइते अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई जोगबुढा अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको थियो । सिजापतिको हत्यामा संलग्न भएको आरोपमा आशिष बराल, आलीताल गाउँपालिका-८ बस्ने अन्दाजी १८ वर्षीय पुजन लोहनी र परशुराम नगरपालिका-१२ बस्ने अटो रिक्सा चालक तेजबहादुर बिकलाई पक्राउ गरिएको डीएसपी पालले जानकारी दिए ।

सोधपुछका क्रममा उनीहरु तीनै जनाले मदिरा सेवन गरेपछि सिजापतिसँग विवाद हुँदा सोही क्रममा कुटपिट गरेर घाइते अवस्थामा अटोमा राखेर आलीताल गाउँपालिका-४ मा छाडेर गएको बयान दिएका छन् । पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा पक्राउ परेका बराल र लोहनी मृतक सिजापतिका नातेदार हुन् भने अटो रिक्सा चालक उनीहरुको साथी भएको खुलेको छ । सिजापति आइतबार मात्र डोटीबाट आफन्त बरालको घरमा आएको पाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७