मेलम्ची खानेपानी आयोजनाले ठूला ढुङ्गा पन्छाउन माग्यो सेनाको सहयोग

मेलम्चीको ढुङ्गा, बालुवा पन्छाउन ३२ करोड बजेट


३ फाल्गुन २०७८, मंगलवार
Melamchi

काठमाडौं । बाढी पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना अन्तर्गत हाल नदी सफा गर्ने काम भइरहेको छ । नदीको गेग्रान हटाउनेलगायत काम चलिरहेको छ ।

यसैबीच आयोजनाले मेलम्ची मुहानका ठूला ढुंगा हटाउन नेपाली सेनासँग सहयोग मागेको छ । आयोजनाअन्तर्गत नदी सफा गर्ने काम भइरहेको र ठूला ढुंगा पन्छाउन सेनासँग सहयोग मागिएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग भएका उपकरणले ढुंगा फुटाउन नसक्ने भएकाले सेनाको सहयोग मागिएको उनले बताए । ‘ठूला ढुंगा, माटो, बालुवा, गिट्टी हटाउन सेनासँग सहयोग मागेका हौँ । असारमा गएको बाढीपहिरोले ठूला-ठूला ढुंगा बगाएर ल्याएको रहेछ । हामीलाई ती ढुंगा हटाउन गाह्रो भयो’, प्रवक्ता पन्तले भने ।

विस्फोटक पदार्थको प्रयोग गरेर ठूला-ठूला ढुंगा फुटाउन सकिने आयोजनाले जनाएको छ । ‘विस्फोटक पदार्थको प्रयोग गर्ने, ढुवानी गर्ने अनुमति सेनासँग मात्रै हुन्छ । त्यसैले नेपाली सेनासँग सहयोग मागेका हौं’, उनले भने । आयोजनाका अनुसार बाढीपहिरोका कारण करिब १५ देखि २० मिटर क्षेत्र ढुंगा, बालुवाले पुरिएको छ । ढुंगा, बालुवाले पुरिएको सोही क्षेत्रमुनि मेलम्ची खानेपानीको हेडबक्सको मुख्य संरचना छ । आयोजनाले काठमाडौं उपत्यकामा अस्थायी रूपमा पुनः पानी ल्याउन पुनर्निर्माणको काम सुरु भएको पनि जनाएको छ । हेडबक्स सफाइको काम पनि भइरहेको प्रवक्ता पन्तले जानकारी दिए ।

‘अहिले करिब १२ वटा मेसिनलगायत जनशक्तिले काम गर्दै आएको छ । मुख्य संरचनामाथि थुप्रिएको ढुंगा, बालुवा पन्छाउँदै छौँ । सबै बालुवा, ढुंगा पन्छाइसकेपछि संरचनाको अवस्थाअनुसार काम अघि बढाउनेछौँ । चाहिने मेसिन र जनशक्ति सोहीअनुसार थप्दै जाने योजना छ’, उनले भने ।

आयोजनास्थलसम्म जाने पुलहरू बाढीपहिरोले भत्काएकाले पुनर्निर्माणको काम केही समय ढिलो भएको आयोजनाले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार उपत्यकामा हाल आठ हजार लिटरदेखि नौ हजार लिटर पानी मात्रै आपूर्ति भइरहेको छ । उपत्यकावासीलाई ४३ करोड लिटर पानी आवश्यक छ । उपत्यकावासी ट्यांकर व्यवसायीबाट महँगोमा पानी किन्न बाध्य छन् ।

दुई दशक बढीको प्रतीक्षाछि गत वर्ष उपत्यकामा मेलम्चीको पानी झरेको थियो । पानी परीक्षण गर्न धारामा पठाएको तीन महिनापछि बाढीपहिरोले आयोजनामा क्षति पुर्‍यायो । पानी पठाउन रोकियो ।

आयोजनाले आउँदो चैतसम्म पुनः पानी उपत्यकामा ल्याउने सम्भावना रहेको जनाएको छ । ‘बालुवा, ढुंगा पन्छाउने काम भइरहेको छ । अझै केही संरचना उकास्न बाँकी छ । खोतल्न बाँकी छ । ती संरचना हेरेर मर्मत-सम्भार गरिसकेपछि अस्थायी रूपमा पानी उपत्यकामा ल्याएर वितरण गर्न सकिन्छ’, प्रवक्ता पन्तले भने । सरकारले मेलम्ची खानेपानीको ढुंगा, बालुवा पन्छाउन ३२ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७