गठबन्धनको एमसीसीसम्बन्धी ‘निर्णायक’ वैठक छोडेर उपेन्द्र यादव किन गए सिरहा ?


५ फाल्गुन २०७८, बिहीबार
Upendra Yadav

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा आज (बिहीबार) गठबन्धनका शीर्ष नेताको ‘वारपार’ को वैठक हुने भनिएकै बेला सत्ता गठबन्धनकै एक शीर्ष नेता उपेन्द्र यादव भने सिरहा पुगेका छन् ।

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु एमसीसीको विषयमा निणणर्यक छलफलमा जुट्ने तयारी गरिरहेका बेला सत्ता गठबन्धनकै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भने सिरहामा पार्टीमा कार्यकर्ता भित्राउन व्यस्त छन् । उनी आजको वैठकमा सहभागी नहुने भएका छन् ।

upendra yadav1

एमसीसीका कारण सत्ता गडबन्धनमा विवाद बढ्दै गएपछि गठबन्धन वैठकबाट जसपा अध्यक्ष यादव टाढिन थालेका छन् ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लगायत विषयमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताको बैठक ५ बजे डाकिएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा आज अपराह्न ५ बजे बैठक बस्ने तय भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्तारुढ दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

बैठकमा यही फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नका लागि साझा धारणा बनाउनेलगायतका विषयमा छलफल हुने बताइएको छ । संसद्को बुधवारको बैठकमा सो प्रस्ताव टेबल गर्ने सरकारको तयारी भए पनि सत्तारुढ दलबीच सहमति नभएपछि टेबल गरिएको थिएन ।

अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर गठबन्धनमा तीव्र मतभेद चलिरहेका बेला अध्यक्ष यादव भने प्रदेश-२ को दौडाहामा निस्केका छन् । एमसीसी पास गर्नैपर्ने पक्षमा रहेका अर्का नेता डा. बाबुराम भट्टराई अहिले पाँच दलीय गठबन्धनमा बढी सक्रिय देखिएका छन् । पार्टीमा यादवविरुद्ध मोर्चाबन्दी गरिरहेका भट्टराई गठबन्धनको छलफलमा नियमित सहभागी भइरहेका छन् ।

तर पार्टीका कार्यकारी अध्यक्ष यादव भने एमसीसीको विवाद छल्नका लागि केही दिनदेखि जनकपुर केन्द्रित भएर प्रदेश-२ मा सक्रिय छन् । बुधबार जनकपुरमा आयोजित पार्टी कार्यक्रममा सहभागी यादव बिहीबार सिरहा पुगेका छन् । उनी सिरहामा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर बेलुका जनकपुर फर्किने छन् ।

यही कारण बिहीबार बेलुका तय गरिएको पाँच दलीय गठबन्धनको बैठकमा पनि उनी सहभागी हुने छैनन् । जसपाबाट गठबन्धन बैठकमा डा. भट्टराई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ सहभागी हुँदैछन् ।

यादव एमसीसी प्रतिनिधिसभामा टेबल गरेर अनुमोदन गर्ने चर्चाबीच प्रदेश २ तिर लागेका हुन् । उनका प्रेस सल्लाहकार महेश चौरसियाले पहिले नै निर्धारित कार्यक्रम रहेका यादव मधेश प्रदेश यात्रा गएको बताएका छन् । ‘गठबन्धन बैठक अचानक बोलाइएको रहेछ । तर अध्यक्ष यादव पहिले नै तय भएको कार्यक्रम अनुसार मधेश जानु भएको हो’, चौरसियाले भने, ‘गठबन्धन बैठकमा डा. भट्टराई जानुहुन्छ । यो कुनै विवाद भएर होइन, एमसीसी छल्न पनि होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७