गठबन्धन बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्नेमै हाम्रो जोड छ : प्रचण्ड


२०७८ फाल्गुण ५ बिहीबार ०७:०० बजे

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन बचाउने प्रयास भइरहेको बताएका छन् । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने विषयमा सत्ता गठबन्धनमा मतभेद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा त्यसबारे निर्णायक छलफल गर्न बैठक राखेका छन् । साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ ।

बैठकअघि विहान प्रधानमन्त्री देउवासँग छलफल गरेका दाहालले दिउँसो नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । छलफलपछि अध्यक्ष प्रचण्डले गठबन्धन कसरी बचाउने भनेर प्रयासरत रहेको बताए । ‘भरे ५ बजे गठबन्धनको बैठक बस्दैछ, त्यही बैठकको तयारीबारे छलफल गर्‍यौं’ प्रचण्डले भने, ‘गठबन्धन कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्नेबारे छलफल भयो । हाम्रो जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’ उनले गठबन्धनको छलफलबाटै निकास आउने बताए ।

बैठकबाट बाहिरिने क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि गठबन्धनको बैठकमा त्यसबारे छलफल हुने बताए । ‘यसमा धेरै बोलेर पनि बिग्रिएको छ, अहिले केही भन्नुछैन,’ उनले भने, ‘अब गठबन्धनको बैठकबाटै निणर्यमा पुग्छौं ।’ अब सरकार छोड्नु हुन्छ कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले कुनै जवाफ दिएनन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७