एमसीसी सकस : बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनको बैठक


२०७८ फाल्गुण ५ बिहीबार ०८:०० बजे

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनको बैठक शुरू भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गराउने विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो ।

एमसीसी सम्झौता संसदमा टेबल गर्ने विषयमै गठबन्धनभित्र विवाद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसका लागि निणर्ायक छलफल गर्न बैठक बोलाएका हुन् । भर्खरैदेखि बैठक शुरू भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलगायत गठबन्धनका शीर्ष नेताहरू सहभागी छन् ।

सरकार शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारीमा छ । त्यसका लागि गठबन्धनभित्र सहमति जुटाउन प्रयास भइरहेको एक मन्त्रीले बताए । ‘यो अन्तिम प्रयास हो, सकारात्मक छलफल भइरहेको छ । हामी सकेसम्म राष्ट्रिय सहमतिको प्रयास गरिरहेका छौं’, ती मन्त्रीले भने ।

उनका अनुसार गठबन्धनमा एकमत नभएपनि शुक्रबारको बैठकमा एमसीसी टेबल गर्ने तयारी छ । त्यसका लागि प्रधानमन्त्री देउवाले कांग्रेसका नेताहरूमार्फत् प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद गरिरहेका छन् । सरकारले बुधबारको बैठकमै टेबल गर्न प्रस्ताव गरे पनि गठबन्धनभित्रको विवादले प्रधानमन्त्री देउवा अन्तिम समयमा एमसीसी टेबल गर्नबाट पछि हटेका थिए । गठबन्धनमा कांग्रेस बाहेक सबै दल एमसीसी सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७