गठबन्धनको बैठक निष्कर्षविहीन : देउवा जसरी पनि टेबल गर्ने पक्षमा, प्रचण्ड–माधव नेपाल विपक्षमा


२०७८ फाल्गुण ५ बिहीबार ०७:३८ बजे

काठमाडौँ : एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । विहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षबिहीन भएको हो ।

शुक्रबार बिहान पुन: गठबन्धनको बैठक बस्ने सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकपछि जानकारी दिए । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने अडान लिएपछि सहमति हुन सकेन ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउनुपर्ने शर्त राखेका हुन् ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदमा टेबल हुन दिन आग्रह गरेका थिए ।

बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरीसकेको छ ।

बैठकमा प्रधानमन्त्री देउवा, कांग्रेसबाट महामन्त्री गगन थापा, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ लगायत नेताहरू सहभागी थिए ।

बिहीबारको बैठकमा राष्ट्रिय जनमोर्चालाई भने बोलाइएको थिएन । बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादवसमेत सहभागी थिएनन् ।
नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान फेरि सहमतिको कोसिस गर्ने भन्दै १०बजेका लागि बैठक तय भएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७