प्रधानमन्त्री देउवा जसरी पनि भोली नै एमसीसी टेबल गर्ने पक्षमा


२०७८ फाल्गुण ५ बिहीबार १०:४५ बजे

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई जसरी पनि भोली नै संसदमा टेबल गर्ने तयारीमा जुटेका छन् ।

बिहीबार साँझ बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेतारुहरुसँग शुक्रबार नै एमसीसी सम्झौता जसरी पनि पेस गर्ने बताएका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री देउवाले भोलि शुक्रबार बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने अडान राखेका थिए । तर प्रधानमन्त्री देउवाले भने जसरी पनि पेस गर्ने बताएका बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार प्रधानमन्त्रीले भनेका थिए, ‘तपाईंहरु जे सुकै गर्नुस्, सरकारले पेश गर्छ ।’

एमसीसी सम्झौता अनुमोदनको विषयले अमेरिकासँगको सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला प्रधानमन्त्री देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच बुधबार साँझ भेटवार्ता भएको थियो ।

बुधबार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको हो । देउवालाई भेट्न राजदूत बेरी करिब ६ बजे बालुवाटार पुगेका थिए । स्रोतका अनुसार राजदूत बेरीले एमसीसी सम्झौता पास गर्न तागेता गरेका थिए ।

बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकलपछि प्रचण्ड र प्रधानमन्त्री देउवाको भेटर्वार्ता भएको थियो । दुबै नेताको सहमतिमा बुधबारको संसद बैठकमा एमसिसी टेबल गर्न रोकिएको थियो। अर्को बैठक शुक्रबार दिउँसो १ बजेलाई बोलाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७