प्रधानमन्त्री देउवा पत्नी आरजुसहित एमाले अध्यक्ष ओलीको निवासमा


२०७८ फाल्गुण ५ बिहीबार ०७:४१ बजे

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आज बसेको गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा पत्नी आरजुलाई लिएर बालकोट पुगेका हुन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीको बिषयमा गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख विपक्षी दलका नेताओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका हुन् । गठबन्धन बैठक अघि अध्यक्ष ओलीलाई नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पनि भेटेका थिए ।

बिहिबार साँझ एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न गएका हुन् ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने अडान लिएपछि सहमति हुन सकेन ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउनुपर्ने शर्त राखेका हुन् ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदमा टेबल हुन दिन आग्रह गरेका थिए ।

बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरीसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७