प्रदेश १ को नामकरणका लागि सर्वदलीय बैठक आह्वान


२०७८ फाल्गुण ५ बिहीबार १०:३० बजे

विराटनगर : प्रदेश नंं. १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश नंं. १ सरकारले बनाएको समितिका तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको हो ।

प्रदेश नंं. १ सरकारको गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई प्रदेश नंं. १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न जिम्मा लगाएको थियो ।

सोही समितिको जिम्मेवारीअनुसार, आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा उनकै कार्यकक्षमा बसेको बैठकले प्रदेशको नाम टुंगो लगाउने प्रक्रिया अघि बढाउन लागेको हो ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी छन् ।

बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट सर्वसम्मतीले प्रदेश नंं. १ को नाम प्रस्ताव गरिने प्रारम्भिक सहमति गरेको हालका स्वास्थ्य मन्त्री तथा प्रदेशको नामकरणका लागि गठित समन्वय तथा सहजीकरण समितिका प्रमुख जयराम यादवले जानकारी दिए।

‘आजको बैठकमा प्रदेशको नाम प्रदेश सभामा प्रस्तुत गर्नुपर्दा सत्तारुढ गठबन्धनका तर्फबाट सहमतिमा प्रस्ताव गर्ने प्रारम्भिक सहमति गरेका छौं’ मन्त्री यादवले भने ।

मन्त्री यादवले प्रदेश नंं. १ को नामकरण सम्बन्धमा फागुन १० गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको सर्वदलीय बैठक डाकिएको जानकारी दिए ।

उक्त बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तिनै दलहरूका प्रदेश कमिटी अध्यक्ष-सभापति, सरकारका सबै मन्त्रीहरू सहभागी हुने मन्त्री यादवले जानमकारी दिए । उनका अनुसार, बैठक फागुन १० गते दिनको १२ः१५ बजेका लागि बोलाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७