बायोमेट्रिकका पक्षधरको घेरामा मन्त्री बिष्ट


६ चैत्र २०७४, मंगलवार
kailadh khadka

काठमाडौं, ६ चैत । मलेसिया रोजगारीमा जाने नेपाली युवाहरुसँग विभिन्न शीर्षकमा ठगी गर्दैआएको समूहको घेरामा श्रम तथा रोजगार मन्त्री गोकर्णराज बिष्ट परेका छन् । बायोमेट्रिकका नाममा नेपाली कामदार ठगी गर्दैआएको ३९ वटा स्वास्थ्य ब्यवसायीहरुले सोमबार मन्त्री बिष्टलार्ई मन्त्रालयमै गएर बधाइ दिएका छन् ।

kailadh khadka
बायोमेट्रिकका पक्षधर कैलाश खड्का सोमबार मन्त्री बिष्टलाई बधाइ दिंदै ।

बायोमेट्रिकको नाममा अनेक संस्था खडा गरी नेपाली कामदारसँग चर्को शुल्क लिने ३९ वटा संंस्था आवद्ध स्वास्थ्य ब्यवसायी संघका अध्यक्ष कैलाश खड्काले मन्त्री बिष्टलाई सोमबार बधाइ दिन पुगेका छन् । ३९ वटा संस्थाको सिन्डिकेट बनाएर कैलाश खड्काहरुले ४ बर्षदेखि बायोमेट्रिकका नाममा १८ हजार ४ सय ८० रुपैयाँ लिंदैआएको छ । यसअघि मलेसिया जाने नेपालीहरुले स्वास्थ्य परीक्षण शुल्क र प्रवेशाज्ञाको लागि ७ सय मात्र तिर्नुपथ्र्यो । तर ४ बर्षदेखि १८ हजार ४ सय ८० बुझाउँदैआएका छन् ।

तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई करोडौं रुपैयाँ घुस दिएर बायोमेट्रिकका नाममा कैलाश खड्काहरुले नेपाली कामदारहरुबाट चर्को शुल्क लिंदैआएको छ । त्यसपछिका मन्त्री सूर्यमान गुरुङ र दीपक बोहराले पनि बायोमेट्रिकको घुस खाएर कामदार शोषण गर्न छुट दिए ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति पनि बायोमेट्रिकको घुस र यूरोप अष्टेलिया घुमेर कामदारको शोषणको पक्षमा उभिन पुगे । वर्तमान केपी ओली नेतृत्वको सरकार आएपछि बायोमेट्रिकका नाममा लाखौं कामदारहरु ठगिनबाट जोगिने अपेक्षा गरिएको थियो ।

वाम गठबन्धन सरकारले सुशासन स्थापना गर्ने घोषणापत्रमा उल्लेख गरेका कारण पनि बैदेशिक रोजगारीमा जाने सन्ततिका अभिभावकहरुले मत दिएका थिए । तर त्यो मतको कदर गरी बायोमेट्रिकका नाममा हुने ठगीलाई खारेज गर्नुको साटो तिनै ठगीमा संलग्नहरुको पुष्पगुच्छा मन्त्री बिष्टले लिएका छन् ।

bayo
बायोमेट्रिकका पक्षधर ब्यवसायी मन्त्री बिष्टलाई बधाइ दिंदै ।

बैदेशिक रोजगारीमा जानेहरुले घरखेत बन्धकी राखेर साहुबाट चर्को ब्याजमा लिएको ऋणमध्ये १४ हजार भन्दा बढी अनावश्यक रुपमा बीचौलियालाई बुझाउनुपर्ने बाध्यता मन्त्री बिष्टले हटाउने अपेक्षा गरेका थिए । तर मन्त्री बिष्ट नै तिनै बीचौलिया कैलाश खड्काहरुको घेरामा परेर पुष्पगुच्छा लिएपछि कामदारहरु सशंकित भएका छन् ।

बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षणदेखि विभिन्न शीर्षकमा असुली रोक्न माग गर्दै बैदेशिक रोजगार ब्यवसायी संघ, नेपाल मेडिकल ब्यवसायी संघदेखि विभिन्न संघ संस्थाहरुले आन्दोलन गर्नेदेखि मन्त्रालयमा ज्ञापनपत्र दिए । हरेक मन्त्रीले रोक्ने आश्वासन दिए पनि ३९ वटा स्वास्थ्य संस्थाहरुबाट संकलन गरी कैलाश खड्काहरुले करोडौैं घुस खुवाएर कामदार ठगी गरिरहेका छन् ।

४ बर्षअघिदेखि बिचौलीयाको चलखेलका कारण विगतको भन्दा १४ हजार ७ सय ८० रुपैयाँ बढी नेपाली कामदारले तिर्नुपरेको छ । यसरी बीचौलियाका कारण कामदार चर्को ठगीमा परेका छन् । तर तिनै बायोमेट्रिकका पक्षधरहरुले मन्त्री बिष्टलाई सोमबार बधाइका पुष्पगुच्छा दिएर बधाइ दिएका छन् । र, कैलाश खड्काहरु मन्त्री बिष्टलाई मिलाइसकेको भन्दै बायोमेट्रिकका नाममा लिंदैआएको शुल्क खारेज नहुने भन्न थालिसकेका छन् ।

मलेसियाले विश्वका १४ मुलुकबाट कामदार लिने गरे पनि केबल नेपालमा मात्रै यस्ता एजेन्सीले प्रभाव र दबाबमा पारी कामदारबाट अवैध रुपमा रकम उठाइरहेका छन् । भिएलएन नेपाल, बायोमेट्रिक, माईग्राम, ओएससी, आईएससी जस्ता एजेन्सीमार्फत् कामदारमाथि थप आर्थिक भार थोपरिरहेका छन् । जुन रकम नेपालका कैलाश खड्का र मलेसियामा पनि बीचौलियाहरुले नै उठाउने गरेका छन् । बायोमेट्रिक अवैध हो, यो खारेज हुनुपर्छ भनेर श्रम मन्त्रालयले गठन गरेको समिटिले रिपोर्ट दिइसकेको छ । तर त्यो रिपोर्ट मन्त्रालयको घर्रामा धुलो लागेर बसेको छ ।

यो पनि पढ्नुहोस् ।

श्रममन्त्रीलाई प्रभावमा पार्न बायोमेट्रिकका बीचौलियाको दौडधूप

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७