देउवा-ओली भेटबारे झलनाथले भने, ‘गठबन्धन सहमतिमा बनेको हो, अरु आशंका गर्दिन’


२०७८ फाल्गुण ६ शुक्रबार ०७:०१ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको प्रश्नले सत्ता गठबन्धनलाई नछुने दाबी गरेका छन् ।

‘गठबन्धन सहमतिका आधारमा बनेको हो । एमसीसीले छुनुपर्ने कुनै कुरा छैन,’ संसद बैठकपछि बाहिरिने क्रममा खनालले भने । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटबारे नेता खनालले आशंका नगर्ने बताएका छन् ।
‘प्रधानमन्त्रीका आफ्ना मत र चाहना छन् । अहिले संसद चलिरहेको छैन । संसद रोकेको प्रतिपक्षलाई संसद चलाउ भन्नलाई जानु भएको होला भन्ने अनुमान छ । त्यो भन्दा अरु कुरा भए होलान भन्ने आशंका म गर्न चाहन्न । संसद चलाउन आग्रह गर्न जानु भएको हो भने ठिक छ,’ उनले भने ।

एमसीसीमा राष्ट्रघाती प्रावधान रहेको भन्दै नेता खनालले संशोधन नभएसम्म पास हुन नदिने बताए । ‘एमसीसीमा गम्भीर आपत्ति र राष्ट्रलाई घात गर्ने कुरा छन् । नसच्चिएसम्म संशोधन नभएसम्म हामी यसलाई पास गर्न दिँदैनौं,’ उनले भने । यसैबीच कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भदौदेखि अवरुद्ध संसद खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट पुगेर प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेको बताएका छन् ।

बालुवाटारमा शुक्रबार बिहान बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकपछि उनले संसद खुलाउन प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता भएको बताएका हुन् । ‘संसदलाई सुचालु गर्ने प्रधानमन्त्रीको दायित्व हो । संसदलाई जीवन्त बनाउन प्रमुख प्रतिपक्षीको पनि त्यत्तिकै दायित्व र भूमिका रहन्छ,’ कार्कीले भने, ‘संसद सुचालु गरेर एमसीसीबारे संसदमा गम्भीर र जीवन्त रुपले छलफल होस् भनेर प्रतिपक्षी नेतालाई भेट्न जानु भएको हो ।’

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई निष्कर्षमा पुर्‍याउनेबारे प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीचको छलफल सकारात्मक भएको उनले बताए । ‘यो जुन परियोजना छ यसलाई निष्कर्षमा पुर्‍याउने प्रधानमन्त्रीजीको प्रस्तावमा विचार विमर्श सकारात्मक रुपले भएको छ,’ प्रवक्ता कार्कीले भने । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच गए राति भक्तपुरको बालकोटमा छलफल भएको थियो । बालकोटमा वार्ताका लागि प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पनि पुगेकी थिइन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७