औषधि व्यवसायी हत्या प्रकरण : पत्नीसहित दुई जनालाई जन्मकैद


२०७८ फाल्गुण ६ शुक्रबार ०७:५१ बजे

मोरङ । मोरङको विराटनगर महानगरपालिका-१० मधुमारामा २३ वर्षीय औषधि व्यावसायी देवीप्रसाद दुलालको हत्या घटनामा संलग्नलाई जन्मकैदको सजाय सुनाइएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनार घर भएका दुलालको सुतेकै ठाउँमा २०७७ साल जेठ ४ गते राति हत्या भएको थियो । उनले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आएका थिए । जिल्ला अदालत मोरङले दुलालकी पत्नी (श्रीमती) ३३ वर्षीया मीना श्रेष्ठ (दुलाल) र मीनाका प्रेमी सिरहाको लाहान नगरपालिका-११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहलाई जन्मकैदको फैसला गरेको हो ।

न्यायाधीश मनोज केसीको इजलासले दुवै जनालाई जन्मकैदको फैसला सुनाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार बिहीबार आएको फैसला अनुसार मीना र ब्रह्मदेवले २५ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने हुन्छ । घटनाको मतियारका रूपमा मुद्दा चलाइएका इटहरीका २० वर्षीय सोनुकुमार साहको कसूर अदालतले कायम गरेको छ । उनलाई सजाय निर्धारणका लागि पछि छुट्टै सुनुवाइ हुने सूचना अधिकारी बुढाथोकीले बताए ।

औषधि व्यावसायी दुलाल र मीनाबीच ११ वर्षअघि प्रेम विवाह भएको थियो । योजना बनाएर मीनाले आफ्ना प्रेमी ब्रह्मदेवसँग मिलेर सुतेका बेला प्लाष्टिकको डोरीले घाँटी कसेर ओछ्यानमै पतिको हत्या गरेको अनुसन्धानबाट खुलेपछि दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो ।

उनीहरु दुई जनाबीच घटना हुनुभन्दा एक वर्ष अघिदेखि प्रेम सम्बन्ध रहेको खुलेको थियो । आफूहरुको प्रेममा बाधक बनेको भन्दै मीनाले ब्रह्मदेवसँग सल्लाह गरेर हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । ब्रह्मदेव ४ वर्षदेखि दुलालकै औषधि डिलरमा काम गर्थे । पत्नी मीनासँग हिमचिम बढाएको चाल पाएर उनले ब्रह्मदेवलाई कामबाट निकालिदिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७