लोकतन्त्र सिद्धान्तसँगै जीवन पद्धति र संस्कार हो : सभामुख


२०७८ फाल्गुण ७ शनिबार ०८:०० बजे

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताएका छन् । उनले भने, ‘लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो । थप सजग र सचेत भएर लोकतन्त्रको संस्थागत अभ्यास सुनिश्चित गर्न सक्दा नागरिकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छु ।’

राष्ट्रिय प्रजातन्त्र दिवस-२०७८ का अवसरमा शुभकामना दिँदै सभामुखले लोकतन्त्र सिद्धान्तसँगै हाम्रो चिन्तन, जीवन पद्धति, व्यवहार र पुस्तान्तरणको महत्वपूणर् संस्कार समेत भएको बताए । उनले यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहनु अनिवार्य हुने बताएका छन् । लोकतन्त्रको समीक्षा र यसको अभ्यासमा आधारित रहने उल्लेख गर्दै सभामुखले संविधानको मर्म र भावना अनुसार अघि बढ्न एवं लोकतन्त्रको उन्नत अभ्यासका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

देशमा लोकतन्त्र प्राप्ति एवं राष्ट्रियताको संवर्द्धनका लागि विभिन्न समयमा भएका सङ्घर्षमा जीवन आहुति दिनुभएका सम्पूर्ण महान् सहिदप्रति स-सम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । लोकतन्त्र प्राप्तिका लागि भएका सबैखाले सङ्घर्षका क्रममा घाइते, अपाङ्ग हुनुभएका र तत्कालीन राज्यबाट बेपत्ता पारिनुभएका सम्पूर्ण योद्धाको अमूल्य योगदानकोे स्मरण गर्दै उनीहरूप्रति सभामुखले उच्च सम्मान व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले सन्देशमा भनेका छन्, ‘हामी सात दशक यताका सबैखाले सङ्घर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको साँचो अर्थमा कार्यान्वयनको चरणमा छौँ । यस क्रममा हाम्रा सामु थुप्रै चुनौती देखापरेका छन् । चुनौतीको सामना गर्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्नु अहिलेको मुख्य कार्यभार हो ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७