उपलब्धीको संरक्षण र रक्षामा सबैले जोड दिनु पर्दछ : उपराष्ट्रपति


२०७८ फाल्गुण ७ शनिबार ११:४४ बजे

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

प्रजातन्त्र दिवस-२०७८ को अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपतिले भनेका छन्, ‘विभिन्न कालखण्डमा भएका सशस्त्र सङ्घर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपलब्धिलाई संविधानले संस्थागत गरिसकेको छ । यी उपलब्धीको संरक्षण र रक्षामा हामी सबैले जोड दिनु पर्दछ ।’

ऐतिहासिक जनआन्दोलनमार्फत् सार्वभौम नेपाली जनताले निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूणर् र अविस्मरणीय दिनको रुपमा यस दिवसलाई लिइएको स्मरण गर्दै उपराष्ट्रपतिले प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा आफ्नो जीवनको आहुति दिनु हुने महान वीर वीरंगनाप्रति श्रद्धासुमन अर्पण गरेका छन् । प्रजातन्त्र प्राप्तिपछि पनि नेपाली जनताले विभिन्न कालखण्डमा ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र सङ्घर्ष गर्नुपरेको भन्दै उनले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७