बैतडीको हवाई सेवा डेढ महिनापछि सञ्चालनमा


२०७८ फाल्गुण ७ शनिबार ०७:३३ बजे

बैतडी । डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । गत पुस १६ गते धनगढी-बैतडी-धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो ।

मौसम खराब र यात्रु नपाउँदा डेढ महिनादेखि बन्द रहेको हवाई सेवा सञ्चालनमा आएको समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारी दिए । उनले भने, ‘यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा हुन सकेको थिएन, मौसम सुधार भएपछि सञ्चालनमा आएको छ ।’ धनगढीबाट १३ यात्रु लिएर आएको र यहाँबाट १८ यात्रु लगेर जहाज गएको भट्टको भनाइ छ ।

साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको छ । गएको डेढ महिनामा तराईमा हुस्सु नै पहाडमा वर्षा र हिमपातले गर्दा उडान हुन नसकेको हो । मौसम सफा हुँदै गएकोले अबदेखि साताको एक दिन शुक्रबार नियमित उडान हुने जनाइएको छ ।

गत वर्ष पनि एक महिना खराब मौसमका कारण हवाई सेवा बन्द भएको थियो । पाटन विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम साताबाट पुनः सञ्चालनमा आएको थियो । विसं २०३२ मा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७