स्थानीय निर्वाचनका लागि तनहुँमा १३६ मतदानस्थल


२०७८ फाल्गुण ७ शनिबार ०७:०० बजे

तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि तनहुँमा १३६ मतदानस्थल तय गरिएको छ । मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहज रुपमा मतदान गर्न जिल्लाका दस पालिकामा मतदानस्थल तोकिएको हो ।

निर्वाचनसम्बन्धी सहजीकरणको लागि जिल्लाका दसवटै पालिकामा निर्वाचन फोकल पर्सन तोकिसकिएको निर्वाचन कार्यालय (तनहुँ) ले जनाएको छ । त्यसैगरी मुख्य निर्वाचन अधिकृतसहित दशवटै पालिकामा निर्वाचन अधिकृत तोकिने जिल्ला निर्वाचन कार्यालय (तनहुँ) का निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए ।

‘एक हजार मतदाता बराबर एक केन्द्र राख्ने योजना बनाएका छौँ’, उनले भने, ‘फागुन १९ गते देखि २२ गतेसम्म दाबी विरोध, विवरण सच्याउन र नामावली हटाउन सबै स्थानीय तहमा पठाइनेछ ।’ निर्वाचन कार्यालयले माघ २४ गतेसम्म एक लाख २८ हजार ५४२ महिला र एक लाख १९ हजार ९५१ पुरुष गरी कूल दुई लाख ४८ हजार ४९३ को विवरण निर्वाचन आयोगमा पठाइएको उनले बताए ।

फागुन २५ गतेसम्म परेका निवेदन कार्यान्वयन गरेर २६ गते निर्वाचन आयोगमा तथ्याङ्क पठाई चैत १३ गतेभित्र अन्तिम नामावली प्रकाशन गरिने छ । आसन्न निर्वाचनलाई स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदाता शिक्षा तथा परामर्शका कार्यक्रमलाई तीव्रता दिइएको छ । उनले भने, ‘मताधिकारबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर पारदर्शी किसिमले काम गरिएको छ ।’ रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७