एकीकृत समाजवादीको स्थायी कमिटी वैठक जारी, एमसीसीबारे के गर्ला निर्णय ?


२०७८ फाल्गुण ७ शनिबार ०७:५१ बजे

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी वैठक काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटलमा जारी छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे ठोस निणर्य लिन एकीकृत समाजवादीको वैठक बसेको हो ।

‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसी नै हो । योभन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव गंगालाल तुलाधरले भने । ‘एमसीसीसँग जोडिएका अन्य कुराहरुमा गठबन्धनको भविष्य, हाम्रो भूमिकालगायतका बारेमा छलफल हुन्छ र निणर्यमा पुग्छौ’, तुलाधरले भने ।

नेता तुलाधरले एमसीसी यथास्थितिमा पास गर्नु हुँदैन भन्ने पूर्ववत् धारणा रहेको भन्दै यो बीचमा पनि एमसीसीका सम्वन्धमा धेरै अध्ययन गरिएको बताएका छन् । सो पार्टीको नेतृत्वले यथास्थितिमा एमसीसी पास हुन नसक्ने बताउँदै आएपनि सरकारमा रहेका मन्त्रीहरु एमसीसी पास गरेर गठबन्धन र सरकार जोगाउनुपर्ने पक्षमा रहेका छन् ।

सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरुमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।

सरकारले आगामी आइतबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेश गर्ने तयारी गरेको छ । त्यसअघि सत्ता साझेदार दलहरुको साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका थिए । तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थायी कमिटीको बैठकबाट पार्टीको एकीकृत धारणा तय गर्ने भन्दै समय मागेका थिए । त्यसपछि आइतबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७