नयाँ पार्टी घोषणा गर्दै कमल थापाले भने, ‘गीताको कसम खाएका कारण राप्रपा फुटाइँन’


२०७८ फाल्गुण ७ शनिबार ०७:५६ बजे

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले चाहेको भए सक्ने भए पनि राप्रपा नफुटाएको बताएका छन् । आफ्नो नयाँ पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै थापाले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आए पनि गीतामा हात राखेर नफुटाउने कसम खाएको कारण त्यसो नगरेको बताएका छन् ।

कार्यक्रममा उनले भने, ‘मलाई आज २०७६ साल फागुन २९ गतेको सम्झना भइराखेको छ । यही मञ्चबाट गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिन छैन भन्ने कसम खाएको थिएँ । गीता सनातन धर्मावलम्बीहरूको एउटा महान् ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिले फुटाउँदिन भनेको मलाई सम्झना छ । मलाई आज यो भन्दा खुशी लाग्छ कि मैले राप्रपा फुटाइँन ।’

‘मैले चाहेको भए सजिलै सक्थें । अहिले पनि राप्रपामा हामीप्रति स्नेह राख्ने बहुसंख्यक केन्द्रीय सदस्यहरू हुनुहुन्छ । वहाँहरूले विधान र कानुन बमोजिम बहुमत पुर्‍याएर पार्टी फुटाऔं भन्ने सल्लाह दिनुभएको थियो । तर मैले पार्टी फुटाउन चाहिनँ,’ उनले थपे, ‘पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्ने कुरामा म विश्वास राख्दिनँ ।’

अध्यक्ष कमल थापाले राजसंस्थाले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । थापाले राजसंस्थाले गुट बोकेर हिंडेको र अभिभावकत्वको भूमिका निर्वाह गर्न नसकेको बताएका हुन् । उनले भने, ’राप्रपाको आन्तरिक मामिलामा राजसंस्थाबाट हस्तक्षेप भयो। राप्रपाले परिकल्पना गरेको राजसंस्थाले आदर्श अभिभावकको भूमिका निर्वाह गर्न सकेन ।’ उनले पछिल्लो पाँच वर्षमा आफूबाट धेरै गल्तीहरु भएको स्वीकार्दै माफी दिन आग्रह गरे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७